किरात जातिको नालीबेली र संस्कृति – १ (कृष्णप्रकास श्रेष्ठ)
लेखक: कृष्णप्रकाश श्रेष्ठ
कृति: किरात जातिको नालीबेली र संस्कृति
संयोजक
रूस नेपालविद्या केन्द्र
मास्को
२०१०
यस पुस्तिकाको सन्दर्भमा
नेपालको प्रचीनतम आदिवासी किरात जातिको बारेमा नेपाली भाषामै पनि अनुसंधानात्मक कृतिहरुको अभाव खटकिरहेको परिप्रेक्ष्यमा यो सानो पुस्तिका नेपाली भाषाभाषी पाठकहरुको करकमलमा समर्पण गर्दैछु । यसबाट किरात जातिको भौतिक तथा बौद्धिक सम्पदा, रीतिथिति, इतिहास तथा संस्कृतिको बारेमा केही बढी जानकारी प्राप्त गर्न सक्नेछन् भन्ने आशा छ । यस पुस्तिकाबाट पाठकले हिमालय भेकका प्राचीन जातिको रुपमा अस्तित्वमा रहेको किरात जातिको किञ्चित् परिचय पाउन सके भने लेखकले आफ्नो श्रम पूर्णतः सार्थक भएको ठान्नेछ । सहृदयी पाठकबाट यसमा रहन गएका त्रुटिबारे सूचना पाउने विश्वासका साथै मुन्धुम प्रकाशनबाट यसको प्रकाशनको व्यवस्था मिलाइदिनुहुने मेरा साहित्यक बन्धु श्री बिक्रम सुब्बाप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । धन्यवाद !
विनीत
कृष्णप्रकाश श्रेष्ठ
विषयसूची
प्राक्कथन
किरात जनजातिहरु
किरात जातिको उत्पत्ति
किरातहरुको स्थानान्तरणबारे किम्बदन्तीहरु
आफ्नो वंशबारे किरात पुराकथाहरु
किरात जातिका थरहरु
किरात पुरोहितहरु र झाँक्रीहरु
किरात जातिमा पूर्वज पूजा
किरात जातिका देवदेवीहरु
जीवनचक्रको रीतिथिति
किरात जाति : बौद्ध कि हिन्दू ?
मुन्धुम : धार्मिक एवं न्यायिक ग्रन्थ
किरात जातिको इतिहास
रुसमा किरात जातिको अध्ययन
उपसंहार
सन्दर्भ ग्रन्थसूची
किरात जातिको नालीबेली र संस्कृति
कृष्णप्रकाश श्रेष्ठ
प्राक्कथन
हाल हिमालय पर्वतको पूर्वी काखमा बसोवास गर्ने किरात जातिहरुको उपस्थिति यस क्षेत्रमा परापूर्व कालदेखि नै रहिआएको थियो । किरात जातिको इतिहासबाट के पनि थाहा पाइन्छ भने पूर्वी नेपालका वासिन्दाहरु मात्र नभई भारतका पूर्वी पहाडी इलाका, आसाम, सिक्किम, भूटानको साथै म्यान्मा (बर्मा), थाइल्याण्ड (श्याम), कम्बोडिया, भियतनाम, फिलिप्पीन आदि देशहरुमा बसोवास गरिरहेका पहाडी जनजातिहरु समेत किरात जातिअर्न्तर्गत पर्दछन् (२१, खण्ड १, पृ. १५) । प्राचीन कालमा वर्तमान नेपाल लगायत हिमालय पर्वतको सम्पूर्ण दक्षिणी काख किम्पुरुषदेश (किन्नर शब्द पनि यसकै पर्याय हो कि ? – कृष्णप्रकाश श्रेष्ठ) अर्थात् किरातभूमि भनिन्थ्यो (४९, पृ. १००) । अझै पनि काठमाडौं उपत्यकाबाट पूर्वतर्फ रहेको पहाडी क्षेत्र किरातप्रदेश भनी प्रसिद्ध रहेको छ । यो भूखण्डलाई तीन भागमा विभाजित गर्ने परम्परा रहेको छ : १) वल्लो किरात अर्थात् काठमाडौं उपत्यकाको सर्न्दर्भमा सबभन्दा निकटमा रहेको किरात भूमि, २) माझ किरात अर्थात् किरातहरुको मध्यस्थ भूमि र ३) पल्लो किरात अर्थात् काठमाडौं उपत्यकाबाट निकै पर रहेको किरात भूमि । दूधकोशी नदीसम्म फैलिएको वल्लो किरातमा मुख्यतः सुनुवार, जिरेल तथा खुम्बु (राई) जातिका किरातहरुको बसोवास रहेको छ भने दूधकोशीदेखि अरुणकोशीसम्म फैलिएको माझ किरातमा मुख्यतः खम्बु (राई) जातिको बाहुल्यता रहेको छ । यसैको आधारमा यो भूखण्ड खम्बुवान अर्थात खम्बु जातिको भूमि भन्ने नामले पनि प्रसिद्ध छ । अरुणकोशीभन्दा पूर्वतर्फ रहेको पल्लो किरात मुख्यतः लिम्बु जातिको बसोवासको क्षेत्र हो र यो भूखण्ड दश लिम्बुवान पनि भनिन्छ । त्यसको पनि पूर्वतर्फ रहेको भूभागमा चाहिं मुख्यतः लेप्चा जातिका किरातहरुको बसोवास छ । सम्भवतः पहिले नेपालको सीमा टिस्टा नदीसम्म निर्धारित गरिएको वेला सिक्किम पनि यसै किरातप्रदेश अर्न्तर्गत नै पदैथ्यो होला जहाँ हाल खास गरी लेप्चा जातिको वसोवास छ (२९, पृ. ६३-६४) । हाल आफूलाई किरात जातिको वंशज मान्ने विभिन्न जनजातिका मानिसहरु नेपालमा मात्र सीमित नरही सिक्किम, भूटान र भारतको आसाम तथा पश्चिमी बंगाल राज्यहरुमा पनि प्रशस्त संख्यामा रहेका छन् ।
किरातहरु तिव्बत-बर्मेली (हिमाली) भाषा परिवारअर्न्तर्गत पर्ने विभिन्न किरात भाषिकाहरु बोल्दछन् जसमध्ये राई, लिम्बु र लेप्चा आदि भाषाहरु पनि पर्दछन् । नेपाल अधिराज्यमा सन् १९९१ को जनगणनाअनुसार ३ लाख ५० हजार ७८० व्यक्तिले किरात भाषालाई आफ्नो मातृभाषा घोषित गरेका छन् जो देशको जनसंख्याको १.९ प्रतिशत हुन आउँछ ।नेपालमा राई (२११३५३) र लिम्बु (१२९२३४) भाषाभाषीहरुको नै बाहुल्यता रहेको छ (३१, पृ. ५५-५६) । सन् २००१ को हगगणनानुसार चाहिं यस संख्यामा बृद्धि भएको देखिन्छ (राई ३७१५६ अर्ञात् जनसंख्याको १.४७ प्रतिशत र लिम्बू ३३३५३३ अर्थात् जनसंख्याको १.४७ प्रतिशत) । भारतमा पनि यी दुवै जातिका प्रतिनिधिहरुको बाहुल्यता रहेको पाइन्छ । अनि नेपालमा अल्पसंख्यक रहेका लेप्चाहरूको भाषालाई कतिपय विद्वानहरुले तिव्बत-हिमाली भाषा परिवारअन्तर्गत राखेका छन् । जे जसो भए तापनि किरात जातिकै विभिन्न समूहहरु एक-आपसमा एउटै भाषामा कुरा गर्न सक्तैनन् र एक दोस्राको भाषा बुझ्दैनन् । जर्मन भाषाविद् डा. हान्सन तथा प्रो. भिन्टेरले पूर्वी नेपालमा बसोवास गरिरहेका राई जातिमा नै २८ विभिन्न उपभाषाहरु रहेको कुरा जनाएका छन्, यद्यपि अन्य उपभाषाहरुभन्दा वान्तावा भाषा बढी व्यापक रुपमा फैलिएको छ । ,,राई जातिअर्न्तर्गत पर्ने विभिन्न समूहहरु, जस्तै वान्तावा, थुलुंग, चामलिंग, खालिंग, कुलुंग, सांगपांग आदि, विशेष भाषाको उपयोग गर्दछन् । तसर्थ कसैले थुलुंग भाषा बोल्यो भने वान्तावा जातका राईहरु उसको कुरा बुझ्न सक्तैनन् । यसै गरी खालांग भाषा चामलिंग जातका राईहरुको निम्ति बोधगम्य हुँदैन, किनभने यी भाषाहरुको बीचमा उपभाषागत मात्र नभई विशेष मौलिक विभेद रहेको पाइन्छ,, (२३, पृ. २०२) ।
नेपाल, भारत, सिक्किम तथा भूटानसम्म फैलिएर बसोवास गरिरहेका किरात जातिका विभिन्न शाखाहरुमा भाषिक, सांस्कृतिक, सामाजिक आदि विभिन्न क्षेत्रमा केही न केही अन्तर पाइने भए तापनि तिनको मूल जरो पहिल्याउने र अनेकतामा एकताको खोजी गर्ने यस पंक्तिकारको लक्ष्य रहेको छ । एकातिर चीन-तिव्बत र अर्कोतिर भारतको बीचमा हिमालयको काखमा अवस्थित नेपालमा प्राचीन कालदेखि आफ्नो अस्तित्व कायम राख्दै आएका किरात जातिको परम्परा र वर्तमानबारे पनि विवेचना गर्दै यस जातिको सभ्यता र संस्कृतिको मूल पहिल्याउने यहाँ किञ्चित् प्रयास गरिनेछ ।
किरात जनजातिहरु
किरात या किराँत भन्ने जातिनाम मंगोल बान्कीका अति प्राचीन जातिको सामूहिक नाम हो । प्राचीन संस्कृत ग्रन्थहरुमा पनि किरात जातिको उल्लेख पाइन्छ । नेपाली विद्वान् धूस्वाँ सायमीको कथनानुसार “केही विद्वानहरुले सिन्धु नदीउपत्यकाको प्राचीन सभ्यता किरात सभ्यता नै थियो” भन्ने राय प्रकट गरेका छन् । ऋग्वेद जस्तो प्राचीनतम ग्रन्थमा समेत आर्यजाति र किरात जातिको बीचमा संग्रामको वर्णन पाइन्छ । भारतको आर्यीकरणको समयमा निसन्देह नै किरातहरु अनार्य मानिएका थिए । यदि यजुर्वेद जस्तो प्राचीन ग्रन्थमा परशुमेध यज्ञको सन्दर्भमा किरातहरुको नाम लिइएको छ भने अथर्ववेदमा चाहिं किरात युवतीको चर्चा गरिएको पाइन्छ (५४, पृ. १३७) । यजुर्वेदमा ,,गूहव्य किरात,, को उल्लेख गरिएको छ । यसको अर्थ हुन्छ : “गुफामा बस्ने जाति” । पुड्को कद, फराकिलो चेहरा, थेप्चो नाक र चिम्से काला आँखा आदि यस जातिको चारित्रिक रुपरेखाको वर्णनबाट पनि किरात जातिकै मानिसहरुको भेषभूषाको चित्रण गरिएको हो भन्ने स्पष्ट हुन जान्छ ।
यसै गरी “महाभारत” महाकाव्यमा किरात जातिलाई आर्यावर्त (भारतवर्ष) को उत्तरमा बस्ने वासिन्दाको रुपमा वर्णन गरिएको छ भने कालीदासकृत महाकाव्य “कुमारसम्भव” मा चाहिं किरात जाति गंगापारी हिमालयको घाँचमा बस्ने वासिन्दाको रुपमा चित्रण गरिएको छ ।महाभारत “सभापर्व” मा ,,पूर्वी प्रदेशमा भीमको अभियानको चर्चाको क्रममा विदेहउपर विजय प्राप्त गरेपछि किरातहरुको देशमा पुगेर सातजना किरात शासकहरुउपर विजय हासिल गरेको,, (५४, पृ. १३७) वर्णन छ ।
नेपाली विद्वान् प्रयागराज शर्माको मतानुसार किरात शव्द ,,प्राचीन ग्रन्थहरुमा व्यापक अर्थमा उपयोग गरिएको छ र यसअर्न्तर्गत मंगोल बान्कीका सबै जनजातिहरु समाविष्ट गरिएका थिए । यस प्रकार ती सवै जनजातिहरुलाई किरात भन्ने एउटै सगोल नाउँ दिइएको हुनु सम्भव छ,, (५५, पृ. ६८) । अर्का नेपाली विद्वान् सोमध्वज बिष्टको राय पनि यस्तै छ । उनले लेप्चा, मेचे, कोचे, धिमाल आदिको त कुरै नगरौं, तामांग, मगर, गुरुंग, थारु र अझ शेर्पालाई समेत किरात जातिअर्न्तर्गत पारेका छन् । उनले ,,ङ्,, (सुरक्षित स्थल), ,,चो,, ,,चे,, अथवा ,,जे,, (अग्लो ठाउँ), ,,गुँ,, (पहाडी जंगल), ,,ला,, (भञ्ज्यांग) आदि प्रत्ययान्त स्थाननामहरुको विवेचना गर्दै के निष्कर्ष निकालेका छन् भने ,,प्राचीन कालमा किरातहरु नेपालका पूर्व, पश्चिम र तराईका व्यापक इलाकाहरुमा फैलिएका थिए,, (४५, पृ. ७१) । उनीहरुले यी स्थानहरुको नाउँमा यसको चिन्ह छाडेका छन् । तसर्थ हिमालय पर्वतको सम्पूर्ण घाँचलाई किरात जातिको थलो (निवास क्षेत्र) मान्न सकिन्छ । ,,अपेक्षतया केही समयअघिसम्म पनि किरातहरु आर्यजातिको प्रभावक्षेत्रबाट बाहिरै रहेका थिए र उनीहरु आर्येतर जाति रहिआएका थिए,, (५५, पृ. ६७) । प्रसिद्ध नेपाली इतिहासविद् डिल्लीरमण रेग्मीले लेखेका छन् : ,,कुन तथ्यको पनि चर्चा गर्नु आवश्यक छ भने मनुस्मृतिअनुसार किरातहरु पनि लिच्छविहरुकै स्थिति र स्तरमा रहेका छन् । यसबाट त्यस वेला किरातहरुको सामाजिक स्तर उच्च रहेको पुष्टि हुन्छ,, (५३, पृ. २) । यसै “मनुस्मृति” (अध्याय १०, श्लोक ४४) मा भारतवर्ष र त्यसको आसपासका जाति र जनसमूहहरुको उल्लेख गरिएको छ । अंशतः त्यसमा “…चीन, किरात, दरद: (३८, पृ. २१९) आदि जातिहरुको नाम परेको छ ।
किरात भन्ने जातिनामको व्याख्या विभिन्न किसिमबाट गरिन्छ । यो जातिवाचक शव्द कान्कटी (कुशद्वीपकी सुन्दरी), कालात (हिमालयको दक्षिणी पाखो), किर्यात (किल्लाहरुको देश), चिरायत (वनस्पति), किरेत (रेशम) आदि शव्दहरुबाट व्युत्पन्न भएको व्याख्या पाइन्छ । यसैउसले यस शव्दको व्युत्पत्ति विभिन्न प्रकारले गर्न सकिन्छ । व्याख्याको विभिन्नताअनुरुप अर्थमा पनि अनेकता पाइनु स्वाभाविकै हो । तसर्थ किरातको अर्थ कसैले कान्काटीका वंशज भन्ने लगाएका छन् भने कसैले चाहिं कालातका वासिन्दा, किल्लाहरुको देशका मान्छे, चिराइतो व्यापारी, रेशम व्यापारी आदि अर्थ बताएका छन् । तर उपरोक्त कुनै अर्थको आधारमा पनि हामी ,,किरातहरुको प्राचीन उत्पत्तिको पुष्टि गर्न समर्थ हुँदैनौं,, (५४, पृ. १३७) । केही हदसम्म किल्लाहरुको देशको मान्छे अथवा रेशम व्यापारी या चिराइतो व्यापारी भन्ने अर्थ सठीक प्रतीत हुन्छ । कौटिल्यीय “अर्थशास्त्र” मा पहाडी भेकमा उम्रने र दक्षिणका इलाकाहरुमा निर्यात गरिने चिराइतोलाई किराततिक्त भन्ने संज्ञा दिइएको पनि विचारणीय छ (३५, पृ. १००) ।
नेपाली विद्वान् इमानसिंह चेमजोंगको मतानुसार नेपालका किरात जातिअर्न्तर्गत ,,तीन वंशहरु समाविष्ट छन्,, । तीमध्ये “खाम्बोंगबा (खाम्बो) सर्वप्रथम हिमालय क्षेत्रमा फैलिए, त्यसपछि तांगसांगथा (मंगोल) र मुनाफेन (चिनियाँ) वंशका मानिसहरु त्यहाँ आइपुगे र खाम्बोसित मिसिन पुगे…” (४८, पृ. ४) । यस प्रकार व्यापक अर्थमा नेपाल, भारत, बर्मा, श्याम (थाइल्याण्ड), भियतनाम, मलाया र फिलिपिन्ससम्म फैलिएका सबै आर्येत्तर जनजातिका प्रतिनिधिहरुलाई किरात जातिअन्तर्गत लिन सकिन्छ । तर संकुचित अर्थमा हाल मुख्यतया पूर्वी नेपालमा बसोवास गरिरहेका राई (खम्बु), लिम्बुका साथै मुख्यतः सिक्किममा बसोवास गरिरहेका लेप्चा जनजातिहरुलाई किरात मान्नुपर्दछ ।
यहाँ लेप्चा जनजातिको बारेमा केही विस्तृत रुपले चर्चा गर्नु जरुरी छ । यो जनजाति आखेटको निम्ति प्रख्यात छ । उनीहरु धनुवाणको सहायताले वनमा शिकार गर्दछन् र यस्तो आयुध खूब मेहनत गरेर बनाउँछन् । कुन जन्तुको शिकार गर्ने हो त्यसैअनुरुप चार किसिमका धनुषहरुको प्रयोग गरिन्छ (३७, पृ. ५१०) । भूटानमा अधिकांश लेप्चाहरु खेतीपाती र शिकारमा संलग्न रहेका छन् । उनीहरु विषाक्त चुच्चो भएको वाणको प्रयोग गर्दछन् (३७, पृ. ५१४) । तर एक शताव्दी पहिलेसम्म जीवनयापनको मुख्य साधन मानिने आखेट प्रथा हाल बिलाउँदै गएको छ र लेप्चाहरु अब खेतीपाती र पशुपालनतर्फ आकषिर्त हुन थालेका छन् ।
माथि उल्लिखित जनजातिहरुको अतिरिक्त सुनुवार, जिरेल, याख्या आदि अन्य केही जनजातिहरु पनि किरात जातिअन्तर्गत नै पर्दछन् । याख्या वा थामी जस्ता कतिपय अल्पसंख्यक जनजातिहरु अन्य बहुसंख्यक किरात जनजातिभित्र गाभिइसकेका छन् । हुन त किरात भन्ने जातिनाम मुख्यतः राई जनजातिको सूचक बन्न पुगेको छ र लिम्बूहरु आफ्नो स्तर राईको भन्दा उत्कृष्ट ठान्दछन् तर यी सवै जनजातिहरु कालान्तरमा विभिन्न ऐतिहासिक तथा सामाजिक कारणवश विभिन्न मूलका समूहहरुसंग घुलमिल हुन पुगेको भए तापनि वस्तुतः एउटै मूलका हुन् भन्ने कुरामा कुनै संदेह छैन । यी सबै जनजातिहरु एउटै नृवंशभित्र पर्दछन् र उनीहरुबाट पश्चिमतर्फ बस्ने तामांग, उत्तरमा बस्ने तिव्बती (भोटे), र निश्चय पनि दक्षिणतिर तर्राईमा बस्ने अन्य मंगोल बान्कीकै आफ्ना छिमेकी जनजातिहरुबाट समेत भिन्न छन् । हुन त कतिपय किराती किम्बदन्तीहरुमा प्राचीन कालदेखि नै समथर तराई प्रदेशमा बसोवास गरिरहेका मेचे, कोचे (राजवंशी) र थारु जनजातिसंग किरात जातिको वंशगत एकत्वबारे उल्लेख गरिएको पाइन्छ (१०, पृ. ४२) । थारुहरुले त ,,तर्राईका लिम्बु,, भन्ने विशेषण समेत पाएका छन् । मेची नदीको किनारातिर बस्ने मेचे जनजातिका मानिसहरु पनि आफूलाई किरात जातिकै मान्दछन् र आफूलाई पनि आफ्ना बन्धुवान्धव लिम्बु र खम्बुझै रेशमको व्यापार गर्दै चीनबाट बसाइँ सरेर आएको ठान्दछन् । उनीहरुको धारणाअनुसार लिम्बु र खम्बुहरु पहाडतिरै बसे तर मेचेहरु भने न्यानो र उर्वर ठाउँको खोजी गर्दै पहाडबाट समथर इलाकातर्फ झरे (३१, पृ. १९) ।
नेपालका मोरंग तथा झापा जिल्लाहरुमा बसोवास गरिरहेका धिमाल जाति पनि किरात जातिकै एउटा शाखा मानिएको छ र तिनलाई ,,मधेशका किरात,, भन्ने गरिन्छ । धिमाल जनजातिका अधिकांश किम्बदन्तीहरुमा मात्र होइन कि उनीहरुको वाह्याकृति र भाषामा समेत किरात जातिसंग निकै सामञ्जस्यता रहेको पाइन्छ (१६, पृ. ४) ।
अधिकांश विद्वानहरुको धारणाअनुसार पूर्वी नेपालमा वसोवास गरिरहेका सुनुवार तथा जिरेल जनजातिहरु पनि किरात जातिअन्तर्गत नै पर्दछन् । काठमाडौं उपत्यकाबाट पश्चिमतिर बस्ने मगर जातिसंग नृवंशात्मक रुपमा किरातहरुको बढी साम्यता पाइन्छ । परन्तु केही विद्वानहरु तिनलाई पूर्वी तराईमा पर्ने सिमरौनगढबाट बसाइँ सरेर आएका ठान्दछन् । ज्ञातव्य के पनि छ भने किरात वंशावलीमा पनि किरात जातिका पूर्वपुरुषहरु सिमरौनगढ हुँदै भादगाउँका राजाबाट पूर्वी पहाडमा बस्ने अनुमति प्राप्त गरेर कोशी क्षेत्रमा फैलिएका मानिन्छन् (जिरेल, १९९२, पृ. १५) । नेपाली नृवंशवेत्ता डोरबहादुर विष्टको अध्ययनअनुसार सुनुवार भाषा मगर भाषाको ज्यादै निकट छ भने जिरेल भाषा चाहिं शेर्पा भाषासंग निकै मिल्दछ, यद्यपि तिनको वाह्य रुप चाहिं मगरहरुसंग बढी मिल्दछ । किम्बदन्ती अनुसार जिरेलहरु पनि शेर्पा जातिसंग मिसिन पुगेका सुनुवारकै वंशज ठानिन्छन् । यसैउसले सुनुवारहरु जिरेलहरुलाई आफ्नो स्तरभन्दा तलको ठान्दछन् भने जिरेलहरु चाहिं आफूलाई सुनुवारकै स्तरको मान्दछन् । जिरेल विद्वानले सुनुवार र जिरेलका आदिपुरुषलाई किरात वंशावलीको आधारमा दाजुभाइ बताएका छन्, यद्यपि किरात वंशावलीमा उल्लिखित तथ्यहरु प्रामाणिक मान्न गाह्रै पर्दछ । जे जसो भए तापनि जिरेलहरुमा हाल बौद्ध धर्माबलम्बी शेर्पा जातिकै सामाजिक तथा सांस्कृतिक प्रभाव बढी पाइन्छ, यद्यपि ब्राह्मण पुरोहितबाट पनि पूजापाठ गराउने गरिन्छ । सुनुवारहरु चाहिं मगर जातिझै हिन्दू धर्मबाट बढी प्रभावित छन् । भोजपुरका केही गाउँहरुमा कुलुंग जनजातिको बसोवास छ जो आफूलाई किरात बताउँछन् तर उनीहरुको रीतिथिति किरातहरुको भन्दा भिन्न छ (२१, खण्ड १, पृ. ६२३) ।
किरात जातिको बसोवासको क्षेत्रनजिकै रहेका अन्य जनजातिहरुको बारेमा पनि दुइ शव्द भन्नु आवश्यक हुन्छ । किरात प्रदेशअन्तर्गत रहेको भूभागमा बस्ने शेर्पा जाति तिव्बती मूलका हुन् र बौर्द्धधर्मको लामापन्थका अनुयायी मानिन्छन् । त्यस क्षेत्रको पश्चिमतिर बस्ने तामांगहरु पनि लामाधर्मकै अनुयायी हुन् र कसै-कसैले तिनलाई पनि तिव्बती मूलकै बताउने गरेका छन् । तर यसै जातिका विब्ान् सन्तवीर लामा (पाख्रिन) चाहिं तामांगहरुलाई नेपालकै आदिवासी मान्दछन् र उनको कथनानुसार यस जातिको मूल थलो उत्तरमा योल्मा (योलम्बु वा हेलम्बु) तथा दक्षिणमा मधेशको माझमा अवस्थित सैलुंग भनिने सय डाँडाको सुन्दर प्रदेश हो । त्यसभन्दा अझ पश्चिमतिर बसोवास गर्ने नेवार जातिलगायत गुरुंग र मगर जातिमा पनि किरात जातिको अवशेष भेट्टाउन सकिन्छ । यस परिप्रेक्ष्यमा मगर जातिको नाम लिन सकिन्छ जसको निकटतम सम्बन्ध वाह्याकृति तथा भाषागत साम्यताको आधारमा किरात जातिसंग रहेको अनुमान हुन्छ, यद्यपि लामो समयसम्म यस जातिसित खश जातिको सम्पर्क रहिआएको छ । हुन त ,,मगरहरु ठकुरीहरुसंग आफ्नो आनुवंशिक निकटतामा विश्वास राख्तछन्,, (४४, पृ. ५७) । अनि दक्षिण-पूर्वी तराईमा बस्ने सतार जातिमा हिन्दू धर्मको ठूलो प्रभाव परेको छ, यद्यपि यो जाति पनि किरात जातिकै निकटवर्ती प्रतीत हुन्छ । तराई क्षेत्रका थारु जातिलाई त किरातहरुले ,,तराईका लिम्बु,, भनी आफन्त स्वीकारेका छन् भने स्वयं थारु जातिका विद्वानहरु आफूलाई किरात जातिकै एक हाँगा मान्दछन्, यद्यपि उनीहरुले ,,हिन्दू संस्कृतिलाई एकदमै अपनाइसकेका छन्,, (५३, पृ. ४) ।
अधिकांश नेपाली विद्वानहरु हिमाली (तिव्बत-बर्मेली) भाषापरिवारका सबैजसो जनजातिहरुलाई प्राचीन किरात जातिकै शाखासन्तान मान्ने पक्ष्यमा रहेका छन् । उदाहरणार्थ, नेपाली अनुसंधानकर्ता सोमध्वज विष्टले नेपालका स्थाननामहरुको विश्लेषणको आधारमा के निष्कर्ष निकालेका छन् भने नेवार जाति मात्र नभई तामांग, गुरुंग र मगर पनि उत्पत्तिको दृष्टिले किरात जातिअन्तर्गत पर्दछन् (४५, पृ. ७१, ७७, ७९) । किरात जातिको नालीबेली र संस्कृति – २ (कृष्णप्रकाश श्रेष्ठ)
किरात जातिको उत्पत्ति
नेपाली विद्वान् जनकलाल शर्माले किरात जातिलाई मंगोल बान्कीको मान्दै दुइ वर्गमा विभाजित गरेका छन् : १) आयातमुण्ड अथवा पुराकिरात र २) वर्तुलमुण्ड अथवा नवकिरात । उनको धारणाअनुसार खम्बु (राई) र लिम्बु जनजाति पहिलो वर्गमा पर्दछन् भने लेप्चा चाहिं दोस्रो वर्गमा । परम्पराअनुसार खम्बु र लिम्बु पनि निम्न दुइ उपवर्गमा विभाजित छन् । ती हुन् : १) काशीगोत्र र २) ल्हासागोत्र । यदि पहिलो उपवर्ग आयातमुण्डअन्तर्गत पर्दछ भने दोस्रो उपवर्ग चाहिं वर्तुलमुण्डअन्तर्गत पर्दछ । दोस्रो उपवर्गको नाउँबाट नै त्यसको निकटता ल्हासा (तिव्बत) संग रहेको बोध हुन्छ, यद्यपि पहिलो उपवर्गको नाउँ काशी अथवा वाराणसी (भारत) संग सम्बन्धित छैन, बरु काशगार अथवा काश्मिरसित बढी सम्बन्धित रहेको प्रतीत हुन्छ (२७, पृ. ८६-८७) । कुन तथ्य पनि कम रोचक छैन भने लिम्बुहरुमा यी दुइ उपवर्गहरुको अतिरिक्त तेस्रो उपवर्ग पनि रहेको पाइन्छ । त्यो हो ताइश्यानगोत्र अर्थात् ताइश्यान (चीन) सित सम्बन्धित । ,,यी उपवर्गहरुको गोत्र नाउँको आधारमा उनीहरुको मूल थलो नेपालबाट बाहिर रहेको बोध हुन्छ,, (१५, पृ. २१) ।
जे जसो भए तापनि काशीगोत्रअन्तर्गतका किरातहरुमा हिन्दू धर्मको निश्चित प्रभाव ठम्याउन सकिन्छ । यस उपवर्गमा पर्ने किरात जातिका प्रतिनिधिहरु ल्हासागोत्रका प्रतिनिधिहरुभन्दा आफूलाई उच्च स्थानमा राख्दछन् र गोमांस पनि वर्जित गर्दछन् । अनि ल्हासा उपवर्गका प्रतिनिधिहरुमा वर्तुलमुण्ड वर्गका किरातहरुमा जस्तै लामापन्थी बौर्द्धधर्मको निश्चित प्रभाव रहेको पाइन्छ । परन्तु किरात जातिले अद्यापि आफ्नै परम्परागत धर्म पनि सुरक्षित राख्न सकेको छ र त्यसमा उत्तर (तिव्बत) तथा दक्षिण (भारत) का प्रमुख धर्महरुको प्रभाव नगण्य रुपमा मात्र परेको पाइन्छ (२७, पृ. ८७) ।
वर्तमान नेपालको भूभागमा हिमाली (तिव्बत-बर्मेली) भाषाभाषी मानिसहरुको बसाइँ सराइ सम्भवतः विभिन्न चरणमा सम्पन्न भएको थियो । किरात जातिका मानिसहरुको लागि पनि यही कुरा लागू हुन्छ । ,,सम्भवतः सबभन्दा पहिलो बसाइँ सराइ ईसापूर्व दुइ हजार वर्षअगाडि भयो । अनि पछिल्लो उत्तरी हिन्दचीनबाट जुन बसाइँ सराइ भएको थियो त्यो चाहिं प्राचीन तिव्बत-बर्मेली जनजातिका मानिसहरुको महान स्थानान्तरण अभियानको एक हिस्सा मात्र थियो । नेपालको भूभागमा पर्ने हिमालय पर्वतको दक्षिणी काखमा तिव्बत-बर्मेली भाषाभाषी मानिसहरुको बसाइँ सराइ दक्षिण-पूर्वबाट उत्तर-पश्चिमतिर हुँदै गएको थियो,, (४०, पृ. १३) ।
किरातहरुको स्थानान्तरणबारे किम्बदन्तीहरु
किरात जातिको उत्पत्तिको सन्दर्भमा कुनै ऐतिहासिक दसीप्रमाण उपलव्ध नहुँदा किरात जातिको प्रारम्भिक स्थानान्तरणबारे किम्बदन्ती र अनुश्रुतिहरुको विश्लेषणको आधारमा केही निष्कर्ष निकाल्नुपर्ने हुन्छ । किरातहरुको धार्मिक अनुष्ठानहरुको समयमा किरात पुरोहितहरुले यस्ता किम्बदन्तीहरु सुनाउँछन् । मार्क गाबोरिओको विश्लेषणअनुसार यस्ता किम्बदन्तीहरुलाई ,,दुइ भागमा विभाजित गर्न सकिन्छ,, । पहिलो भागमा यस्ता किम्बदन्तीहरु पर्दछन् जसमा “विश्वसृष्टिबारे विभिन्न किरात जातिहरुमा प्रचलित अनुश्रुतिहरु समावेश छन् । तिनमा सवै किरातहरुको समान उत्पत्तिको चर्चा गरिनुका साथै उनीहरुका साझा पूर्खाहरुको स्थानान्तरणसम्बन्धी पुराकथाहरुको वर्णन पाइन्छ…”। अनि दोस्रो भागमा यस्ता किम्बदन्तीहरु पर्दछन् जो “बढी यथार्थवादी धरातलमा आधारित छन्” । एउटा किम्बदन्तीअनुसार किरातहरुका पूर्वपुरुष दाजुभाइहरुबीच जग्गाजमीनको बाँडफाँड भयो र यसरी तीन भाइ छुटिृएर बस्न थाले । तिनैका वंशज सुनुवार, राई र लिम्बु तीन जातिको रुपमा देखा परे (३६, पृ. ४५) ।
किरात वंशावलीअनुसार मुक्तिक्षेत्रका राजा सूर्यमण्डपका छोरीपटिृका नाति सुन्दरसिंहका ५ छोराहरु क्रमशः लालसिंहबाट हायु, सुरसिंहबाट सुरेल तथा जिरेल, रामसिंहबाट सुनुवार, मानसिंहबाट राई तथा धनसिंहबाट लिम्बु जातिको उत्पत्ति भयो । जिरेल जातिकै विद्वान् सुमनकृष्ण जिरेलको अंग्रेजीमा प्रकाशित कृति “नेपालका जिरेलहरु” (इ.सं. १९९२) मा किरात वंशावलीको हवाला दिंदै के प्रस्ट पारिएको छ भने जिरेलहरु एउटा किम्बदन्तीमा उल्लेख गरिएझै सुनवार र सेर्पाको वर्णसंकर नभई किरात जातिकै आदिपुर्खा सुन्दरवीरका ५ भाइ छोराहरुमध्ये माहिला सुरसिंहका सन्तति हुन् (जिरेल, १९९२, पृ. १४-१६) । सम्भवतः किरात जातिकै एक शाखा (वंशावलीअनुसार चाहिं सुरसिंहका सन्तान) मध्ये सुरी क्षेत्रमा बसोवास गर्नेहरु सुरेल भनिएझैं जिरी उपत्यकामा बसोवास गर्नेहरु जिरेल भनी प्रसिद्ध भए । जे होस्, जिरेलहरुमा १२ मुख्य थर र ११ उपथरहरु रहनुका साथै एउटै थरका नरनारीबीच वैवाहिक सम्बन्ध कायम हुन नसक्ने चलन हुनु र आफ्ना कुलपूजामा अद्यापि फोंबोलाई नै पुरोहितको रुपमा ग्रहण गरिनुबाट पनि यो जाति किरात जातिकै एक शाखा हो भन्ने स्पष्ट हुन्छ । सुनुवार जातिको एक किम्बदन्तीअनुसार किरात जातिका पाँच भाइमध्ये क्रमशः जेठोबाट सुरेल, माहिलोबाट सुनुवार, साहिंलोबाट खम्बु (राई), काहिंलोबाट लिम्बु र कान्छोबाट हायु जातिको वंशक्रम चलेको मानिन्छ (मेचीदेखि महाकाली, भाग १, पृ. ६७८) । सुनुवारहरु विहाबारीमा दशथर र बाह्रथर बार्दछन् । बाह्रथर सुनुवार सवर्ण हिन्दूहरुको सोझै सम्पर्कमा आएको हुँदा अधिकांश सामाजिक र धार्मिक कृत्य पनि ब्राहृमणद्वारा गराउँछन् ।
किरातहरु तिव्बतबाट बसाइँ सरेर आएका हुन् भन्ने पुष्टि गर्ने खालका पनि कैयौं किम्बदन्तीहरु प्रचलित छन् । त्यसैमध्येको एउटा किम्बदन्तीमा भनिएअनुसार कुनै समयमा तिव्बतको ताश्म्राव्का भन्ने ठाउँमा बस्ने किरात जातिको एक गोठालो आफ्नो हराएको चमरीगाईको खोज गर्दै बालेन्चुग भञ्ज्यांगसम्म पुग्यो । हिमालयको दक्षिणी पाखोमा हराभरा चरन रहेको छ भन्ने कुरा उसबाट थाहा पाएर पशुपालक किरातहरु त्यस हराभरा ठाउँमा बसाइँ सरे ।
अधिकांश विद्वानहरुको धारणाअनुसार परापूर्व कालदेखि नै किरातहरु नेपालमा बसोवास गर्दथे (१) । रसियाली नेपालविद् इल्या रेद्को र अलेक्सान्द्र लेद्कोभको मतानुसार ,,प्राचीन भारतीय स्रोतहरुमा किरात र नागहरुसित सम्बन्धित प्रथम तिव्बत-बर्मेली आप्रवासीहरुका सन्ततिहरुको रुपमा वर्तमान राई, लिम्बु, सुनुवार, अधिकांश नेवार, मगर र गुरुंगको केही हिस्सालाई मान्न सकिन्छ,, (४०, पृ. १३ ) ।
किरात जातिको उत्पत्तिसम्बन्धी सबै किम्बदन्तीहरुको विवेचना गर्ने कार्य भविष्यको लागि थाँती राख्नु अहिलेको लागि उपयुक्त हुनेछ । यहाँनेर यत्ति मात्र भन्नु युक्तिसंगत हुनेछ कि प्राचीन वेद र पुराणहरुका साथै “महाभारत” र “रामायण” जस्ता काव्यकृतिहरुमा मात्र नभई “मनुस्मृति” र कौटिल्यलिखित “अर्थशास्त्र” जस्ता प्राचीन प्रामाणिक ग्रन्थहरुमा समेत किरात जातिको उल्लेख पाइन्छ । यसबाट किरात जाति एक प्राचीन जाति हो भन्ने पुष्टि हुन्छ ।
आफ्नो वंशबारे किरात पुराकथाहरु
वर्तमान समयका किरातहरु आफूलाई स्वयं शिवका सन्तति मान्दछन् र यस सर्न्दर्भमा किम्बदन्तीहरु पनि सुनाउँछन् । एउटा किम्बदन्तीअनुसार दूरवर्ती कुशद्वीप (हिन्दुकुश) बाट आएकी कंकती नाउँकी सुन्दरीले मानौं महादेवबाट गर्भधारण गरेर किरातहरुका आदिपुरुषलाई जन्म दिएकी थिई । यसप्रकार किरातहरु शिवलाई आफ्नो आराध्यदेव मान्दछन् । प्रत्येक किरातको घरअगाडि सिउँडीको बोट उमारिएको हुन्छ र हरेक दिन बिहान र बेलुका त्यहाँ शिवको पूजा गरिन्छ । शिवद्वारा श्लेषमान्तक वनमा किरातको रुप धारण गरी शिकार गरिएको किम्बदन्ती पनि कम रोचक छैन (४२, पृ. ४०-४२) । पशुपतिनाथको मन्दिरनजिकै किरातेश्वर भनी प्रसिद्ध एउटा शिवलिंग पनि रहेको छ । कुनै समयमा किरात रुपधारी शिवले “महाभारत” ग्रन्थका प्रमुख पात्रहरु पञ्चपाण्डवमध्येका एक अर्जुनको वीरतापूर्ण दर्शनबाट सन्तुष्ट भई अचूक पाशुपतास्त्र समेत हस्तान्तरण गरेको वर्णन अर्को एउटा किम्बदन्तीमा पाइन्छ (२०, पृ. २८) ।
एउटा अवधारणाअनुसार किरातहरुको उद्गमस्थल थेबे मानिन्छ भने अर्को धारणाअनुसार उनीहरु काशीगोत्रका ठानिन्छन् । कुन कुरा पनि उल्लेखनीय छ भने धिमालहरु पनि आफूलाई काशीगोत्रकै मान्दछन् (८, पृ. ८) । किरात संस्कृतिका अन्वेषक इमानसिं चेमजोंगको मतानुसार थेबे भनेको थेव्स हो जुन कुनै समयमा कुशद्वीपको एक हिस्सा थियो र हाल मिश्र भनिन्छ । यसै गरी काशीगोत्रको पनि वर्तमान काशी (भारतको बनारस) सित कुनै सम्बन्ध छैन, बरु काशी शव्दले किरातहरुको पुर्खेउली देश कुशद्वीपसंग सम्बन्ध राख्तछ । लेप्चाहरु चाहिं शुरा (वर्तमान सिरिया) लाई आफ्नो पुर्खेउली देश मान्दछन् (११, पृ. ९) । यस तथ्यको पुष्टिका लागि मिश्रवासीहरु र किरातहरुको परम्परामा समानतालाई लिन सकिन्छ । किरातहरु पनि प्राचीन कालमा मिश्रवासीहरुले बिरालो, गिद्ध, सर्प र बाँदरको ममी बनाएर पूजा गरेझैं यी जीवजन्तुहरुको पूजा गर्दछन् (११, पृ. ९) ।
इमानसिं चेमजोंगले किरात किम्बदन्ती र बाबिलोनियाका किम्बदन्तीबीच सादृश्यताको पनि चर्चा गरेका छन् । उदाहरणका लागि भन्ने हो भने विश्वप्रलय या धरहरानिर्माणसम्बन्धी किम्बदन्तीलाई लिन सकिन्छ । पहिलो किम्बदन्तीमा भनिएअनुसार महाप्रलयको समयमा लेप्मुहांग नामको किरात जिंगिड (सम्भवतः नोय) झैं जीवित रहेको थियो, किनकि ऊ डुंगा (किराती भाषामा खोड्बे) चढेर तैरन सफल भयो भने दोस्रो किम्बदन्तीअनुसार बाबिलोनिया (लेप्चाहरुको किम्बदन्तीअनुसार आरामपादाम) मा धरहरा निर्माण गर्नेहरुले एक दोस्रालाई बुझ्न छाडे र धरहरा ध्वस्त भयो । केही निर्माणकर्ताहरु मात्र ज्यान बचाएर भाग्न सफल भएका थिए । यसरी बाँच्नेहरुमध्ये एक शाखा हिमालयपर्वतको घाँचसम्म पुग्यो जो किरात कहलायो । उनैका वंशजहरु आफूलाई असुरवंशका मान्दछन् । इमानसिं चेमजोंगका अनुसार सर्वप्रथम भारत पुग्ने आर्य जातिका मानिसहरुले सिन्धुनदीको किनारमा शासन गर्ने शम्बासुर नामक किरातासुर राजासंग लड्न विवश भएका थिए (४८, पृ. ६) ।
नेपालवासी राई र लिम्बु तथा मुख्यतः सिक्किमनिवासी लेप्चा जातिमा किञ्चित् मात्र अन्तर भएका एकै किसिमका किम्बदन्तीहरु प्रचलित छन् । उदाहरणस्वरुप, आकाश छुने धरहरा (लेप्चाहरुको कथामा चाहिं सिंढी) निर्माणबारे किम्बदन्तीलाई नै लिन सकिन्छ । नेपाली विद्वानले किरातहरुको भाषाको विविधतामा विशेष जोड दिएको पाइन्छ (१०, पृ. ४१-४२) भने सिक्किमेली विद्वान् निमा ताकनिलामु लेप्चाले चाहिं स्वर्गसम्म पुग्ने किरातहरुको चाहनामा जोड दिएका छन् (१३, पृ. ३८ ः ४१) । कुन कुरा पनि कम रोचक छैन भने धिमाल जातिको पनि यस्तै किम्बदन्ती छ, तर त्यसमा धरहरा वा सिंढीको निर्माण गरिएको छैन, बरु बाँसहरु जोडेर चन्द्रमासम्म पुग्ने लिंगो ठड्याइएको वर्णन छ (८, पृ. ३३) । यसै परिप्रेक्ष्यमा किरात जातिमा प्रचलित जाँडको उत्पत्तिबारे किम्बदन्तीलाई पनि लिन सकिन्छ । लेप्चा जातिको एउटा किम्बदन्तीमा सृष्टिदेवी इत्बुमुका पुत्र तार्बोन्बुको वीरताबारे एउटा किम्बदन्ती प्रचलित छ । तार्बोन्बुले साङलोको रुप लिएर पाताल लोकमा पुगी जादूगर्नी बूढी मात्लीमुन्युले आफ्नो कपालको जुरोभित्र लुकाएर राखेको मर्चाको जरा चोरेर ल्याएको थियो । जाँड बनाउन त्यही मर्चाको आवश्यकता पर्दछ । अनि लिम्बु जातिको किम्बदन्तीमा यस्तै वीरता मानाहांगका मन्त्री साँगली (यस वीरको नामले समेत साङलाको सम्झना गराउँछ) ले प्रदर्शन गरेको छ । पाताललोककी मालिक्नी युमानारान्बुढीले त्यसै गरी आफ्नो कपालभित्र लुकाइराखेको आनन्दको बुटी अर्थात् मर्चा चोरेर ल्याउन ऊ सफल हुन्छ । यी दुवै किम्बदन्तीहरुमा केही मौलिकता हुँदाहुँदै पनि प्रमुख नायकले समान तरीका अपनाएर जाँड बनाउने मर्चा पाताललोकबाट पृथ्वीमा ल्याउँछ ।
किरात जनजातिहरुका किम्बदन्तीहरुमा समानताको मात्र कुरा होइन, परम्परा र रीतिथितिबाट पनि उनीहरुको जातीय निकटताको पुष्टि हुन्छ ।
किरात जातिका थरहरु
किरातहरुको पवित्र ग्रन्थ “मुन्धुम” मा संकलित किम्बदन्तीहरुको आधारमा लिम्बु जातिको स्थानान्तरणको मोटामोटी इतिहास ठम्याउन सकिन्छ । शुरुमा नै लिम्बु जातिका दशजना पूर्वपुरुषहरुले दशवटा वंश अर्थात् थरको स्थापना गरी आपसमा जग्गाजमीनको अंशबण्डा गरेको वर्णन छ । ,,धार्मिक अनुश्रुतिमा जनाइएअनुसार हरेक वंशको आ-आफ्नै काल्पनिक किल्ला हुन्छ । पूर्खालाई चढाइएको बलि बिजुवाले चमत्कारपूरण उडानको समयमा त्यहाँ पुर्र्याउँछ । लिम्बु जातिको साझा संस्कृतिअन्तर्गत हरेक थरद्वारा आ-आफ्नै किम्बदन्तीहरु र रीतिथितिहरुको सृजना गरिएको पाइन्छ,, (३६, पृ. ५४) ।
समय बित्दै गएअनुसार लिम्बुहरुको वंशवृद्धि हुँदै गयो र उनीहरुको पैत्रिक भूभागको पुनः अंशबण्डा भयो । लिम्बुहरुमा एउटै थरभित्र ,,सम्भवतः सगोत्री विवाह वर्जित छ, जब कि अन्य किरात जातिका थरहरुमा आफ्नै कुलभित्र मात्र सगोत्री विवाह वर्जित मानिन्छ,, (३६, पृ. ५४) । नेपाली नृवंशवेत्ता डोरबहादुर बिष्टले राई जातिअन्तर्गत १८ थर (वंश) को उल्लेख गरेका छन् । लिम्बुहरुमा चाहिं थरको संख्या निकै बढी छ । परम्पराअनुसार लिम्बुहरु ८० थर (वंश) मा विभाजित छन् र हरेक थर चाहिं विभिन्न कुलमा विभाजित छ, यद्यपि केही थरहरु कुलमा विभाजित हुँदैनन्,, (४७, पृ. ३५४) । केही लिम्बु थरहरु ,,अशुद्ध,, मानिन्छन् । उदाहरणार्थ, चोंगबुंगको एउटा शाखासन्तान र लेप्चाको बीचमा भएको विवाहबाट उत्पन्न भएको मानिने कम्बो थरका लिम्बुहरु ,,आफ्नो सामाजिक स्तरमा,, चोंगबुंगभन्दा तल्लो श्रेणीका ठानिन्छन् (३९, पृ. २३५) । राईहरुको प्रत्येक थरमा ,,भौगोलिक कारणले गर्दा विभिन्न थरहरुका बीच सम्पर्कको अभावले गर्दा सगोत्री विवाह वर्जित नभए तापनि,, राईहरुमा पनि थरहरुको संख्या बढ्दै गएको पाइन्छ । ,,एउटै थरका मानिसहरुबीच नजिकको साइनो लाग्ने सात पुस्तासम्मका नातेदारहरुसंग विवाहमा बन्देज लगाइएको छ । परन्तु आठौं पुस्तापछि विशेष अनुष्ठान सम्पन्न गरेर बिहेबारी चल्दछ । यसलाई हाडफोडा भन्दछन् । यस प्रकार एउटै थर विभाजित भई नयाँ थरहरु अस्तित्वमा आउँछन्,, (४४, पृ. ३५-३६) ।
धिमालहरु पनि विभिन्न थरहरुमा विभाजित छन् । यी थरहरुको उत्पत्तिबारे पनि किम्बदन्तीहरु प्रचलित छन् । उदाहरणार्थ, राथुम भनिने थरको नामकरण एक किसिमको बाजाको आधारमा भएको हो । यस थरका मानिसको मुत्यु भएमा मलामी जाँदा त्यो बाजा बजाउनु अनिवार्य हुन्छ । अनि दोंगे भन्ने थर चाहिं सम्भवतः मृतकलाई सिमलको काठबाट बनाइएको डुंगा आकारको शवपात्रमा राखेर गाड्ने चलनमा आधारित छ भन्ने अनुमान गर्न सकिन्छ । कोही मरेपछि सम्पन्न गरिने अन्तेष्टिक्रियाको समयमा काँसे (तातारी) भनिने रुखको पात अथवा बोक्रा चाहिने हुनाले काँसे अथवा कास्यार भन्ने थर अस्तित्वमा आएको बुझिन्छ । यसै गरी शवपात्रलाई बेसार (हलेदोको पहेंलो धूलो) ले पोत्नु पर्ने हुनाले योंग्यांग अथवा हर्दिया भन्ने थर देखापरेझैं नूनले पोत्नु पर्ने हुनाले नुनिया भन्ने थरनाम राखिएको होला । माखिम अथवा लातेर थरको उत्पत्ति माहुरीको मैनसित सम्बन्धित मानिन्छ भने बंगालाएती चाहिं जूनकिरीसंग सम्बन्धित छ, किनभने यस्तो थरका धिमालहरु कुनै पनि हालतमा जूनकिरीलाई दुःख दिंदैनन् (१६, पृ. ३१-४१) ।
सुनुवारहरु बारथरमा विभाजित छन् भने आफूलाई सम्भवतः आफ्ना आदिपुरुष मुक्तिक्षेत्रका राजा सूर्यमण्डपको नामबाट सूर्यवंशी मान्ने जिरेलहरु चाहिं बाह्र मुख्य थर र ११ उपथरमा । तर वर्तमान समयमा यो संख्या वास्तविकताको द्योतक छैन । थरहरुको संख्या निकै बढी छ । उनीहरु संयुक्त रुपमा आफ्ना कुलदेवताहरुको पूजा गर्दछन् । यस्तो पूजा अक्सर वैशाख पूर्णिमा अथवा मार्ग पूर्णिमाका दिन सम्पन्न गरिन्छ ।
यलम्बर फाउन्डेसन, नेपाल
ᤕᤗᤶᤒᤖ ᤑᤠᤀᤢᤴᤍᤣᤛᤏ, ᤏᤢᤐᤠᤗ
Tuesday, May 10, 2016
किरात जातिको नालीबेली र संस्कृति – ३ (कृष्णप्रकाश श्रेष्ठ)
किरात पुरोहितहरु र झाँक्रीहरु
किरात जातिका पुरोहितहरुलाई सम्पूर्ण किरात किम्बदन्तीहरु कण्ठ नै हुन्छ र विभिन्न उत्सवपर्वहरुमा उनीहरु यस्ता किम्बदन्तीहरु सुनाउँछन् । मार्क गाबोरिओको शव्दमा ,,समष्टिमा यी किम्बदन्तीहरुबाट विश्वब्रह्माण्डबारे र त्यसमा किरात जातिहरु तथा तिनका विभिन्न थरहरुको स्थानबारे थाहा पाउन सकिन्छ,, (३६, पृ. ४९) । विश्वसृष्टिसम्बन्धी पुराकथाहरु र पूर्खाहरुको बारेमा अनुश्रुतिहरुको अतिरिक्त किरात जातिका भौगोलिक प्रदेशहरुबारे सूचना समेत यस्ता किम्बदन्तीहरुमा पाउन सकिन्छ । स्वर्गलोक र पाताललोकको वर्णनको अलावा दिवंगत पूर्खाहरुको लोकहरुको पनि बयान पाइन्छ । कुनै रोगीको औषधिमूलो गर्नुपर्दा अथवा झाँक्रीले कम्पनको समयमा बिरामीको आत्मा खोज्दै चहार्ने वा अन्तेष्टिको समयमा मृतकको आत्मालाई परलोकतर्फ डोर्याउँदै लाँदा पार गर्नुपर्ने सबै मण्डलहरुको पनि तिनमा वर्णन गरिएको हुन्छ । कुनै धार्मिक अनुष्ठानको समयमा आह्वान गरिने देवदेवीहरुको बारेमा तथा घर, खेत, वन, नदी र वंशका संरक्षक देवताहरुको बारेमा पनि अनुश्रुतिहरु छन् (३६, पृ. ४९) ।
मार्क गाबोरिओले जनाएअनुसार किरातहरुका पुरोहित र झाँक्रीहरु दुइ प्रकारका हुन्छन् । ,,पहिलो यस्तो पुरोहित अथवा झाँक्री हो जसले कुनै जातिका मानिसहरुको जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कारहरुसित सम्बन्धित सामान्य पाठपूजा सम्पन्न गर्दछ र त्यस जातिको वंश र भूभागको संरक्षण प्रदान गर्दछ । अनि दोस्रो चाहिं केवल झाँक्री मात्र हो जसलाई कुनै आपदविपद, रोगव्याधि, भूतप्रेतको हमला, दुर्घटना, अकाल मृत्यु जस्तो विशेष संकटको समयमा निम्त्याइन्छ,, (३६, पृ. ४९) ।
उदाहरणका लागि भन्ने हो भने लिम्बु जातिमा फेदांगमा अथवा याबा (शाम्बा, सम्भवतः मान्देम्बा) भनिने पुरोहितले विभिन्न पूजापाठ सम्पन्न गर्दछ । खतरनाक भूतप्रेतलाई मन्छाउनु परेको छ भने याबाले तन्त्रमन्त्र गर्दछ भने सामान्य पूजापाठ चाहिं फेदांगबाले सम्पन्न गर्दछ । के भन्न सकिन्छ भने फेदांगबा पुरुष जगत्सित सम्बन्धित छ जसले ,,विश्वव्यवस्थाको संरक्षण गर्दछ र त्यसको उलंघनलाई पहिलेबाटै रोक्दछ,, तर याबा चाहिं मुख्यतया नारीहरुसंग सम्बन्धित हुन्छ र उसले ,,उत्पन्न गडबडीको निराकरणका लागि संघर्ष गर्दछ,, (३६, पृ. ६०) । यस प्रकार एक दोस्राको परिपूरकको रुपमा रहेका यस्तै खालका दुवै थरीका पुरोहितहरुले अन्य किरात जातिहरुको पनि सबै कर्मकाण्डहरु सम्पन्न गर्दछन् ।
सुनुवार जातिमा नासो र जिरेल जातिमा चाहिं फोम्पो भनिने पुरोहितले परम्परागत पूजापाठ सम्पन्न गर्दछ । पूर्वतिर बसोवास गर्ने सुनुवारहरुमा जातीय परम्परा बढी सुरक्षित रहेको पाइन्छ । उनीहरुको कर्मकाण्ड सम्पन्न गर्ने दुवै किसिमका पुरोहितहरु रहेका छन् । धिमाल जातिमा पनि दुवै किसिमका पुरोहितहरु छन् जो धामी र ओझा भनिन्छन् । तर उनीहरुमा के अन्तर छ भने धामीले सबै धिमालहरुका साझा देवताहरुको पूजापाठ गर्दछ भने ओझाले चाहिं पारिवारिक देवताहरुको मात्र पूजाआजा गर्दछ (१६, पृ. १७९-१८०) ।
लेप्चाहरुमा चाहि बोन्थिंग (पुरुष पुरोहित) र मुन (नारी पुरोहित) को अस्तित्व छ । लेप्चाहरुमा मातृसत्तात्मक सामाजिक व्यवस्थाको अवशेष सुरक्षितै रहेको पाइन्छ । लेप्चाहरुका धार्मिक चाडबाडहरुमा पुरुष र नारी दुवै थरीका पुरोहितहरुले भाग लिन्छन् । मुन अर्थात् नारी पुरोहितहरु अक्सर ,,पारलौकिक शक्तिहरुसंग सम्पर्क,, राख्तछन् भने बोन्थिंग अर्थात् पुरुष पुरोहितले चाहिं बिरामीको औषधिमूलो गर्दछ अथवा शुद्ध गर्ने विधि सम्पन्न गर्दछ (३७, पृ. ५१२) ।
किरात पुरोहितले परिवार र सम्पूर्ण गाउँकै सुखसमृद्धिको उद्देश्यले सम्पन्न गरिने सावधिक रीतिरिवाज सम्पन्न गर्दछ । उदाहरणका लागि भन्ने हो भने लिम्बु जातिका प्रतिनिधिहरु शरद् र वसन्तमा गरी वर्षको दुइपल्ट पुरुष पुरोहित फेदांगमालाई आफ्नो घरमा निम्त्याउँछन् । ऊ घरको माथिल्लो तलामा समेत जान सक्छ । शुरुमा उसले पुर्खाहरुको गुणबखान गर्दछ, त्यसपछि मात्र उसले जीवितहरुको सुरक्षाका लागि र परिवारको सुखसमृद्धिका लागि देवताहरुसंग प्रार्थना गर्दछ । मार्क गाबोरिओको भनाइअनुसार ,,यो कर्मकाण्ड निकै परिष्कृत छ । यसै विधिको समयमा फेदांगबाले लिम्बु जातिको उत्पत्ति र रीतिरिवाज (विश्वसृष्टि, दश पूर्वजलोक, जसमध्ये एउटा लोकमा त्यस घरको मालिकका पुर्खाहरुलाई उसले राखेको हुन्छ, पुरोहितहरु र देवदेवीहरुको प्रादुर्भाव आदि) को बारेमा सम्पूर्ण किम्बदन्तीहरु सुनाउँछ । यस विधिको समयमा उसले गृहस्वामीको आत्मालाई आठ बाटोको संगमस्थल भएको परलोकमा लिएर जान्छ र त्यसलाई जीवितहरुको मार्गबाट पूर्व दिशातर्फ पठाउँछ र त्यसको पछि लाग्दै ऊ पनि तीन बाटो जोडिएको ठाउँसम्म पुग्दछ । त्यहाँ पुगेपछि उसले बीचको बाटो रोज्दछ र समथर ठाउँमा पुगेपछि एउटा फूल भेट्टाउँछ, जुन घरको मालिकको जीवनको प्रतीक हो । परलोकको यस्तो यात्रा सम्पन्न गरेपछि गृहस्वामी नयाँ शक्ति ग्रहण गरेर जीवितहरुकहाँ नै फर्कन्छ ।उसले यस बाटोमा देखेका वस्तुहरुको आधारमा फेदांगमाले सम्पूर्ण परिवारको निम्ति भविष्यावाणी गर्दछ,, (३६, पृ. ५९) ।
अन्तेष्टिकर्मको विवरणको आधारमा किरात पुरोहितको क्रियाकलापको बारेमा स्पष्ट बोध हुन सक्तछ ।
किरातहरुको अन्तेष्टिक्रिया दुइ चरणमा सम्पन्न गरिन्छ । पहिलो चरणमा मृतकको शव दफनाइन्छ र उसको आत्मालाई पुर्खाहरुको लोकमा पठाइन्छ । दोस्रो चरणमा घेवा अथवा साँल्यों (लेप्चा) सम्पन्न गरिन्छ र यो संस्कार पहिलो संस्कार सम्पन्न गरिएको केही दिन, हप्ता वा महीनापछि सम्पन्न हुन्छ । केवल पुरोहित (लिम्बु जातिमा फेदांगमा र लेप्चा जातिमा नारी पुरोहित मुन) ले मात्र मृतकको आत्मालाई पुर्खाहरुको लोकमा डोर्याउन सक्तछ । मान्छेको मृत्युपछि उसको शवलाई दफनाइएपछि पनि आत्मा चाहिं गाउँमा विचरण गरिरहन्छ भन्ने विश्वास गरिन्छ । यस विषयमा तल विस्तृत रुपमा चर्चा गरिनेछ ।
माथि उल्लेख गरिएका पुरोहित र झाँक्रीहरुको दुर्इ प्रकारको अस्तित्व रहे-नरहेको आधारमा कुनै पनि किरात जातिमा परम्परागत धर्म कुन स्तरमा सुरक्षित रहन गएको छ भन्ने अनुमान लगाउन सकिन्छ । दुवै थरीका पुरोहितहरु स्पष्ट रुपमा अस्तित्वमा रहेको खण्डमा परम्परागत धर्म पनि व्यापक रुपमा कायम रहेको बोध हुन्छ । यसको विपरीत अवस्थामा परम्परागत धर्मको स्थिति पनि कमजोर हुँदै गएको थाहा पाउन सकिन्छ । पहिलो खालका पुरोहितहरुको स्थान उत्तर (तिब्बत) र दक्षिण (भारत) दुवैतिर रहेका धर्महरु अर्थात् बौर्द्धधर्म र हिन्दू धर्मका पुरोहित (लामा तथा ब्राहृमण) हरुले लिन्छन् । दोस्रो खालका पुरोहितहरु चाहिं अस्तित्वमा रहिरहेका हुन्छन् तर तिनको स्थान र महत्व भने बोक्सा-बोक्सीको स्तरसम्म गिरेको हुन्छ र उनीहरुको स्मृतिमा परम्परागत पुराकथा र किम्बदन्तीहरु पनि खिइएको अवस्थामा मात्र सुरक्षित रहेका हुन्छन् ।
किरात जातिमा पूर्वज पूजा
किरात जातिमा मरेर गएका पुर्खाहरुप्रति विशेष सम्मान जनाइन्छ । घरको मुख्य खम्बा अथवा अगेनुलाई अति पवित्र मानिन्छ । त्यसैको छेउमा परिवारका सदस्यहरुको उपस्थितिमा मृत पुर्खाहरुको श्राद्ध गरिन्छ । उदाहरणार्थ, राई जातिमा ,,हरेक वर्ष शरद ऋतुमा अगेनुनेर पितापुर्खाको स्मरण गरिन्छ र नयाँ अन्नबालीको एक मुठी अन्न, अदुवाका टुक्रा, जाँड र रक्सी चढाइन्छ । पराई मानिसहरुलाई अगेनुको स्पर्श समेत गर्न दिइँदैन,, (३३, पृ. ८३) ।
किरातहरु परिवारमा मृतकहरुको स्मृतिमा श्राद्ध सम्पन्न गर्दछन् । यसको लागि गाउँको छेउमा कुनै चहुरमा खम्बा वा लठ्ठी गाडिन्छ । त्यो आत्मालाई स्वर्गतर्फ डोर्याउने मार्गको प्रतीक हो। मृतकको नाममा बलि चढाइएको सुंगुरको पुच्छर त्यसै लठ्ठीको टुप्पामा राखिन्छ । त्यसैमा लुगाका धराहरु पनि बाँधिन्छन् । पुरोहितले त्यसलाई बायाँ पारेर त्यसको वरिपरि परिक्रमा गर्दछ र लय हालेर मृतकको आत्माले पार गर्ने बाटोसम्बन्धी बयान पनि गर्दछ । त्यसपछि ऊ पुर्खाहरुको वेदीसम्मको फिर्ती बाटो देखाउँदै मृतकको घरमा फर्कन्छ ।
किरात जातिमा प्रचलित अन्तेष्टिक्रियाको दोस्रो चरणको पनि चर्चा गर्नु आवश्यक छ । मृतकको आत्मा पितापुर्खाको लोकतर्फ गइसकेपछि यो रीत पूरा गरिन्छ । शुरुमा पुरोहितले कुखुराको भाले, सुंगुर अथवा राँगोको बलि दिन्छ । बलि चढाइएको पशुपक्षीको आत्माले मृतकको आत्मालाई अन्तिम मार्गमा साथ दिन्छ । लामो लय हालेर गीत गाउँदै पुरोहितले आत्माहरुलाई बाटो लाग्ने संकेत दिन्छ । यस गीतमा परलोक यात्राका सबै चरणहरुको बयान गरिएको हुन्छ । मृतकको आत्माले गीतमा बयान गरिएअनुसार यो बाटो पार गर्दछ र अन्त्यमा त्यो कुनै समयमा आफ्नो थरको आदिवासस्थान रहेको पर्वतश्रृंखलाको माथिल्लो स्थलमा अवस्थित चुलीसम्म पुग्दछ । पुरोहितले मृतकको आत्मा तथा त्यसलाई साथ दिने पशु वा पक्षीको आत्मालाई पनि त्यसै चुलीमा बसाउँछ । त्यसपछि ऊ फिर्ती बाटोको वयान गर्न थाल्दछ र त्यसै मार्गबाट ऊ स्वयं मात्र होइन कि मृतकको आत्मा पनि फर्केर आउँछ । हरेक वर्ष त्यसै मार्गबाट मृतकको आत्मा आफ्नो घरमा फर्केर आउँछ, जहाँ अन्य पितापुर्खाका आत्माहरुलाईझैं उसलाई पनि ससम्मान पूजा गरिन्छ । लिम्बु जातिमा चाहिं मृतकको परिवारको घरको चोटाकोठामा बसेर फेदांगबाले मृतकको आत्मालाई पक्रन्छ र त्यसलाई सुनिश्चित बाटोमा डोर्याउँछ । त्यो बाटो घरको मूल खम्बाबाट होइन कि अगेनुबाट शुरु हुन्छ ।
धुवाँको मुस्लोको साथसाथै मृतकको आत्मा पनि घरको छानामा रहेको धुवाँकसबाट बाहिर निस्कन्छ । त्यहाँबाट नै परलोकतर्फ त्यसको सामान्य यात्रा शुरु हुन्छ । अन्त्यमा त्यो आत्मा परलोकको केन्द्रमा रहेको आठओटा मार्गहरुको संगमस्थलमा पुग्दछ । अनि पूर्व दिशामा पर्ने जीवितहरुको लोकतर्फ पीठ फर्काएर फेदांगमाको आत्माले मृतकको आत्मालाई पश्चिम दिशामा रहेको सरोवरतर्फ आकर्षित गर्दछ । त्यसै सरोवरपारि मृतकहरुको बस्ती रहेको छ जहाँ मृतकका पुर्खाहरुले उसको प्रतीक्षा गरिरहेका हुन्छन् । त्यसै बस्तीमा फेदांगमाले मृतकको आत्मालाई छोड्छ र आफू चाहिं लगत्तै घरको अगेनुतिर फर्कन्छ ।
लेप्चा जातिकी नारी पुरोहित मुनले चाहिं मृतकको आत्मालाई कैयौं भञ्ज्यांग, वनजंगल, गुफाकन्दरा र नदीनालाहरु पार गराउँदै लैजान्छे र च्यू भनिने आदिम हिउँचुलीसम्म पुर्याउँछे । यो हिउँचुली उत्तर दिशामा कतै रहेको अनुमान गरिन्छ । लेप्चाको निश्चित थरको मूलथलो मानिने निश्चित च्यू हिमशिखरमा पुगेपछि मुनले शुरुमा चाँदीको साँचोले र त्यसपछि सुनको साँचोले ढोका खोल्दछे र मृतकको आत्मालाई पुर्खाहरुको काखमा सुम्पिदिन्छे । लेप्चा जातिका पुर्खाहरु स्वर्गमा बस्तछन्, किनभने उनीहरुमा नर्क भन्ने अवधारणा छैन । यसरी मृतकको आत्मालाई स्वर्गलोकमा पुर्याइएपछि जाँदाखेरिको भन्दा विपरीत क्रमले अर्थात् शुरुमा सुनको साँचो र त्यसपछि चाँदीको साँचोले ढोकामा ताल्चा मारेर मुनको आत्मा सरासर पृथ्वीमा फर्कन्छ । यसैकारण लेप्चाहरुको धारणाअनुसार मृतकको आत्मा कहिल्यै पनि पृथ्वीमा फर्केर आउँदैन,, (१४, पृ. १३) ।
लिम्बु जातिमा आफ्नो थरको देवता मांगेना र आद्यमाता ह्यूमाहिंदांगमाको पूजाआजा गर्ने चलन छ । यी दुवै देवात्माहरु लिम्बू जातिको साझा पुर्खा मानिन्छन् (४४, पृ. ४५) । लिम्बुहरु यसै गरी हरेक वर्ष मरेका आफ्ना नातेदारहरुको स्मृतिमा थेमांगबा भन्ने रीत पनि सम्पन्न गर्दछन् (४४, पृ. ४६) । राई जातिमा चाहिं आफ्ना साझा पुर्खाको पूजा प्रमुख कुलदेवताको रुपमा गर्ने चलन छ र उनीहरु खाना खानुभन्दा पहिले आफ्ना पुर्खेउली देवताहरुको सम्झना गर्दै केही गेडा अन्न चढाउँछन् । उनीहरु आफ्ना ती कुलदेवताहरुलाई सिकाताखुबूढो, बाल्मोबूढी, कुलुंगबूढी, मांगतेवाबूढी, मोलुसिकारी आदि विभिन्न नाउँले पुकार्दछन् (४४, पृ. ३८) ।
धिमाल जातिका पर्ुखाहरुको चाहिं झाउरागेलाइ भन्ने सगोल नाउँ छ । यसको अर्थ हुन्छ ,,गुएलोको पात,, । उनीहरु आफ्ना मृतक नातेदारहरुको आत्मालाई गुएलोको पात चढाएर मृतकहरुको लोकतर्फ पठाउँछन् । सम्भवतः यसैको आधारमा उनीहरुको पुर्खाको साझा नाउँ रहेको होला (१६, पृ. ९४) । धिमाल जातिको प्रत्येक थरले हरेक वर्ष आफ्ना पुर्खाहरुको स्मरण गर्दछ र यस अवसरमा कुखुराको भाले अथवा पोथीको बलि चढाइन्छ । धिमालहरु खास आफ्ना पूर्वजहरुलाई मात्र देवताको रुपमा मान्दैनन्, बरु चौमाझी अथवा माझी (गाउँको मुखिया) धामी (पुरोहित) र राजा (नेता) आदिका मृतात्माहरुको पनि पूजा गर्दछन् ।
किरात जातिमा विभिन्न वस्तुहरुको आत्मासम्बन्धी अवधारणा पनि कायम छ । उदाहरणार्थ, बाली लगाउने काम समाप्त भएपछि घरका मालिक्नीले भूमाता अर्थात् कृषिकर्मकी देवीलाई कुखुराको बलि चढाउँछे । यो पूजाविधि पुरुषहरुले सम्पन्न गर्न पाउँदैनन्,, (३७, पृ. ८११-८१२) । यो चलन पनि मातृसत्ताको अवशेष प्रतीत हुन्छ ।
किरात जातिका देवदेवीहरु
किरातहरु आदिशक्तिस्वरूपा रणदेवीको रूपमा यूमासाम्मान भनिने देवीको पूजा गर्दछन् । यसलाई उनीहरु प्रमातामही अर्थात् बज्यैको रुपमा सम्मान दर्शाउँछन् । यस देवीको मन्दिर याशोक भन्ने ठाउँमा छ । यसको आधारमा यस देवीले याशोकिनी रानी भन्ने पनि नाउँ प्राप्त गरेको छ । वर्षो दुइपल्ट यस देवीको विशेष पूजा सम्पन्न हुन्छ (१०, पृ. ८८-८९) ।
कैयौं देवदेवीहरु किरात जातिका संरक्षकको रुपमा पूजिन्छन् । लिम्बुहरु सिंगबुंगबा अर्थात् वृक्षका देवता, लुंगबुंगबा अर्थात् ढुगाका देवता, खांगबुंगबा अर्थात् भूमिका देवता आदि विभिन्न देवदेवीहरुको पूजा गर्दछन् (४४, पृ. ४५) । राईहरु चाहिं स्थानीय देवताहरुको पूजा गर्दछन् । तीमध्ये हिउँचुलीहरुमा निवास गर्ने जालपादेवी एक प्रमुख देवी हुन् । यसै गरी राईहरु सप्तकन्या नामक सात बालिका देवीहरुको पनि पूजा गर्दछन् । साथै उनीहरु आकाशगंगाको रुपमा सप्तकोशी नदीको पनि पूजा गर्दछन् जसको किनारामा उनीहरुको बसोवास छ । उनीहरुको निम्ति पूर्वी नेपालको भूभागमा बग्ने सप्तकोशी पवित्र र पूजनीय छ । राईहरुको धारणअनुसार ,,आकाशमा देखिने आकाशगंगा वस्तुतः यिनै नदीहरुको प्रतिबिम्ब मात्र हो,, (४४, पृ. ३८) ।
राईहरु आफ्नो वंशका प्रमुख देवताको रुपमा काल्पनिक साझा पुर्खाहरुको पूजा गर्दछन् । ती हुन् : सिकाताखुबूढो, बाल्मोबूढी, कुलुंगबूढी, मांगतेवाबूढी, मोलुसिकारी आदि । किम्बदन्तीअनुसार उनीहरु कुनै समयमा रहस्यमय ढंगबाट लोप भएका थिए । उत्सवपर्व र धार्मिक अनुष्ठानको समयमा तिनलाई खानेकुरा चढाइन्छ । यसको साथै हरेक दिन भोजन गर्नुअगाडि पनि तिनको निम्ति केही गेडा अन्न चढाइन्छ । यसलाई नै न्वागी भनिन्छ (४४, पृ. ३८) । राईहरुको घरमा खामांग भनिने अदृश्य आत्मा रहन्छ । त्यसको निम्ति एक कुनामा माटोको एक विशेष भाँडो राखिएको हुन्छ । हरेकपल्ट शिकार गरेर फर्केपछि उसलाई शिकारमा मारिएको पशुपक्षीको एक टुक्रा मासु सर्वप्रथम चढाइन्छ ।
लिम्बुहरु पनि विभिन्न प्रकारका अदृश्य जीवात्माहरुको पूजा गर्दछन् र तिनलाई बलि पनि चढाउँछन् । लिम्बुहरुको घरघरमा आदिपुरुषको रुपमा मानिने मांगेन भनिने देवता तथा आदिमाताको रुपमा मानिने हृयूमाहिंदांगमा भनिने देवीको वेदी वा स्थान छुट्याइएको हुन्छ । तिनलाई लिम्बु जातिको साझा पुर्खाको रुपमा लिइन्छ । हरेक वर्षतिनको स्मरण गर्दे खानेकुरा चढाइन्छ ।
लिम्बु जातिमा वर्षको दुइपल्ट अर्थात् वसन्त र शरद्मा क्रमशः योक्वा (नेपालीमा उभौली) र न्वागी (नेपालीमा उधौली) भनिने चाड मनाउने चलन छ । उनीहरु माई (नदीकी देवी), नाम्फुन्योक (पर्वतका देवता), कुदाप (वनका देवता) इत्यादिलाई पनि बलि चढाउँछन् । उनीहरु हिमशिखरहरुमा निवास गर्ने मानिएका पाथीभरा, कालिका, ठूलो देवी आदि विभिन्न देवदेवीहरुको पनि पूजा गर्दछन् (४४, पृ. ४५) ।
लेप्चा जातिमा पनि पर्वतको पूजा प्रचलित छ । यस्तो पूजाको सबभन्दा ज्वलन्त उदाहरणको रुपमा पवित्र पर्वत कञ्चनजंघाको पूजालाई लिन सकिन्छ । ठूल्ठूला ढुंगाहरुको दुइ समूहलाई पर्वतश्रृंखलाको प्रतीकको रुपमा ग्रहण गरिन्छ । लेप्चाहरुमा त्यो ल्हाम्हु नामले प्रसिद्ध छ । यस्ता ढुंगाहरुको प्रत्येक समूहको बीचमा सबभन्दा ठूलो ढुंगा राखिएको हुन्छ । एउटा समूहको यस्तो केन्द्रीय ढुङ्गाले कञ्चनजंघा देवताको प्रतिनिधित्व गर्दछ भने अर्को समूहको केन्द्रीय ढुङ्गा त्यस पर्वतका पत्नीको रुपमा पूजिन्छ । लेप्चा जातिको यस्तो पवित्र पूजास्थलले लामाधर्मको प्रचलनभन्दा पहिलेको प्राचीन धार्मिक रीतिथितिको बोध गराउँछ । यस्तो पूजास्थलमा हरेक वर्ष चमरी गाईको बलि दिएर विशेष पूजा गर्ने चलन छ (३७, पृ. ५१२) ।
धिमाल जातिमा नदीलाई देवताको रुपमा पूज्ने प्रचलन छ र सप्तकोशी नदी पार गर्नु पनि वर्जित मानिएको छ । धिमालहरु विशेषतः कन्काई नदीको सम्मान जनाउँछन् । वार्षिक पूजाको वेला यस नदीलाई रातो, सेतो र कालो ध्वजाको साथै पंचबलि समेत चढाउँछन् (१६, पृ. १०७) ।
आफ्ना देवदेवीहरुलाई धिमाल जातिले शाकोदीर (शाली) तथा देराकोदीर (ग्रामदीर) गरी दुइ समूहमा बाँड्ने गरेका छन् । अर्को शव्दमा भन्ने हो भने तिनलाई पारिवारिक कुलदेवता र सामूहिक साझा देवताको रुपमा वर्गीकरण गर्न सकिन्छ । शाकोदीर वा शाली कुलदेवताको रुपमा पूजिन्छ र त्यसलाई यस्तो घरमा राखिन्छ जसको मोहडा पूर्वतिर फर्केको हुन्छ । कतिपय धिमालहरु जलदेवता आदिको अतिरिक्त चाम्सारी (चम्पासारी), काली, अनि कालीको वाहन मानिने मसान जस्ता प्रथम वर्गका देवदेवीहरुको पनि पूजा गर्दछन् । पूजा गर्नुलाई उनीहरु ,,खुवाउने,, भन्दछन् । कुन कुरा पनि कम रोचक छैन भने धिमालहरु अंशबण्डाको समयमा यी देवदेवीहरुलाई उत्तराधिकारको रुपमा प्राप्त गर्दछन् । दोस्रो वर्गका देवदेवीहरु साझा हुन्छन् अर्थात् गाउँका सम्पूर्ण वासिन्दाहरु वर्षा ऋतुको आरम्भ (असार महीना) मा र शरद् ऋतु (कार्तिक महीना) मा गरी वर्षको दुइपल्ट सामूहिक रुपमा पूजा गर्दछन् । तिनको लागि गाउँको नजीकै पूर्व दिशामा पर्ने वनमा विशेष स्थान बनाइएको हुन्छ । यस्तो स्थललाई ग्रामथान भनिन्छ जुन अक्सर अग्लो थुम्कोमा रहेको हुन्छ । मानिसहरु त्यहाँ देवताको लागि भण्डार, भान्सा, तलाउ, सुंगुरको खोर, कुखुराको खोर र अझ हात्तीसारको समेत निर्माण गर्दछन् (१६, पृ. ७५-८२) ।
धिमालहरुले अर्को किसिमबाट पनि आफ्ना देवदेवीहरुको वर्गीकरण गर्ने गरेका छन् । यसअनुसार तिनका देवदेवीहरु दुइ भागमा बाँडिएका छन् : तागाधारी अर्थात् जनै धारण गर्ने र मतवाली अर्थात् जाँडरक्सीको सेवन गर्ने । पहिलो वर्गका देवदेवीहरुलाई हाँस, परेवा र हरिणको मात्र बलि चढाउन सकिन्छ भने दोस्रो वर्गका देवदेवीहरुलाई सुंगुर र कुखुराको बलि चढाइनुका साथै जाँडरक्सी जस्ता मादक पदार्थ पनि चढाइन्छ । धिमालहरु स्वयं पनि मतवाली मानिन्छन्, परन्तु तागाधारी वर्गका देवदेवीहरुप्रति विशेष सम्मान जनाउँछन् र तिनलाई राजा भनेर सम्बोधन गर्दछन् । यस्ता तागाधारी देवदेवीहरुमध्ये राधाराम (राजा धरम) अथवा राधाम्पाल (राजा धनपाल) आदि उल्लेखनीय छन् । अनि कतिपय धिमालहरुले आफ्नो कुलदेवताको रुपमा मान्ने रासती तथा थारु जातिले पनि आफ्नो जातीय देवताको रुपमा मान्ने गरेको चौधरी (बहादुर चौधरी) भनिने देवताहरुलाई त धिमालहरु महाराज समेत भनेर सम्मान जनाउँछन् । सम्भवतः वास्तविक राजाहरुकै स्मृतिमा राजा र महाराज भनेर संबोधन गरिने देवताहरु अस्तित्वमा आएका हुन् । मतवाली वर्गमा पर्ने देवदेवीहरुमध्ये बूढा ठाकुर विशेष रुपले पूजनीय छ । यसलाई बिजेपुरस्थित बूढा सुव्बा अथवा काठमाडौंस्थित बूढानीलकण्ठकै पर्याय मान्ने गरिएको छ । कतिपय धिमालहरु चाहिं यसलाई भीमसीन (भीमसेन) भन्दछन् । यस देवताको अतिरिक्त धिमालहरु वनका देवता (वन्तराजा र शिकारी), ग्राम देवता (देरागेलाइ), नदीकी देवी (माईवेरांग), भूदेवी (भोनाइ), विभिन्न रोगव्याधिकी देवी (सन्सारी) तथा पूर्वज देवता (जाउरागेलाइ) आदिको पनि पूजा गर्दछन् (१६, पृ. ८५-१००) ।
वराहक्षेत्रपारिको मैनाथानमा किरात जातिको पुर्खेउली देवता मैनामैनी (सम्भवत: मेनकाकी पुत्री पार्वती) को मन्दिर छ । त्यहाँ अद्यापि राई जातिका पुजारी रहेका छन् जो आफूलाई वाल्मिकी ऋषि तथा किरातकी छोरीबाट जन्मेका सन्तान बताउँछन् र ऋषिगोत्रका मान्दछन् (३७क, २०४०, पृ. ३३६-३४०) ।
आफूलाई सूर्यवंशी मान्ने जिरेलहरु कुलदेवताको रुपमा सूर्यको पूजा गर्दछन् र त्रिशूल चढाउँछन् । यसबाहेक उनीहरु आफ्ना पुरोहित फोम्बोको माध्यमबाट वनको विशेष स्थानमा वा घरैमा वैशाख पूणिर्मा र यदाकदा मार्ग पूणिर्माका दिन पनि ल्हा, चेन, छ्योमु, चेराम्जो आदि नामका देवताहरुको पनि वार्षिक पूजा गर्दछन् (जिरेल, १९९२, पृ. २३) ।
किरात जातिको पवित्र ग्रन्थ “मुन्धुम” को आरम्भमै “ओम तागेरा निङ्वा फुमाङ” भन्ने लेखिएकोबाट नै यस प्राचीन जातिले ॐ को सत्व स्वीकार्दै जताबाट पनि आइपुग्ने उज्यालोको रूपमा निङ्वा फुमाङ्लाई सर्वव्यापी ईश्वरको मान्यता प्रदान गरेको सिद्ध हुन्छ (७, १९६१, पृ. १)