धर्म स्वेच्छिक हो, सामान्य हो, धर्म माने पनि हुन्छ नमाने पनि हुन्छ त्यो भन्दा ठूलो संस्कार हो । मौलिक संस्कार जोगाए त्यो नै पहिचान हो, त्यो नै महत्वपूर्ण कुरा हो भन्ने मत आएको छ तर यसको ठिक विपरित महात्मा गान्धीले भनेका छन्ः ‘जसले धर्म र राजनीति एकआपसमा जोडिएको अर्थात परिपुरक हुन्छ भन्ने विश्वास गदैन, उसले धर्म बुझेको हुदैन र राजनीति पनि बुझेको हुदैन ।’ यो भनाईले धेरै प्रष्ट गर्दछ ।

यदि धर्म सामान्य कुरा मान्ने हो भने नेपालको सन्दर्भमा हिन्दुको संख्या ८१.३ प्रतिशत हुदा नै हिन्दु राज्यको माग किन उठेको छ ? धर्मको संख्यामा सन्तुलन भएको भए के उक्त माग उठ्थ्योहोला? हिन्दु धर्मको पवित्र जनावर गाई वा गोरु काटेको निहूमा किन बर्षौबर्ष जेल गइरहेका छन किरात÷गैरहिन्दुहरु? के यहा धर्मको महत्व, प्रभाव र असर देखिएन त? बंगलादेशमा १० प्रतिशत हिन्दु छन त्यहा गाई वा गोरु काटदा जेल जान पर्दैन किन? यी दुई उद्धाहरण माथि गहिरिएर सोचे धर्म के हो, किन आवश्यक छ र धर्मको संख्या किन ठूलो चाहिन्छ भन्ने प्रष्ट हुदैन र? नेपालमा बर्णाश्रम ब्यवस्था नहुनु र पंचायत कालमा नेपाल हिन्दु अधिराज्य नहुनु हो भने अहिले नेपालका शासक को हुन्थेहोला? मानौः नेपाल बुद्धिष्ट मुलुक भएको भए शासक को हुन्थेहोलान? नेपाल मुस्लिम मुलुक भएको भए, प्रधानमन्त्री, मन्त्री, मुख्य–सचिव (शासक) को को हुन्थे होलान? त्यसैले बुझ्नु पर्ने कुरा राज्यशक्तिको मुख्य स्रोत नै धर्म हो । यसर्थ धर्म छैन र भएको धर्म पनि समुन्नत र संमृद्ध छैन भने राज्यशक्ति माथि तपाईको सामथ्र्य पुग्न सक्दैन । धर्म स्वेच्छिक बताईए पनि राजनीतिको मुख्य मेरुदण्ड हो नत्र किन अनेक मनोविज्ञान सहित करोडौ डलर खर्च गरेर किश्चियनहरुले धर्म विस्तार गरिरहेका छन? किन हिन्दुहरुले कृष्ण प्रणामी, ओम शान्ति, साई भक्त आदिआदि अनेक रुपमा विस्तार गरिरहेका छन? नेपालको राज्यसत्ता किन करोडौ खर्च गरेर हिन्दु मन्दिरहरु बनाईरहेका छन?

सामान्यतया संसारमा ५ प्रकारका दर्शन बोकेका धर्महरु पाइन्छन् । मान्छे जस्तो सोच्छ उस्तै जिउनुपर्छ भन्ने हिन्दू दर्शन । भगवान छ उसको भनाई सतप्रतिशत मान्नुपर्छ भन्ने ईस्लाम दर्शन । मरेपछि स्वर्ग पुगिन्छ भन्ने क्रिश्चियन दर्शन । मानिसमा प्रेम, शान्ति चाहिन्छ भन्ने बुद्ध दर्शन र सत्यता र मातृसत्तालाई प्रमुख मान्ने किरात दर्शन । यी सबै धर्मका आआफनो विशेषताहरु छन । सबै धर्म राम्रा छन, सिर्फ कुन धर्म आफूनिकट हो, आफ्नो पहिचान बोक्दछ र सामाजिक शक्ति आर्जन हुन्छ भन्ने मुख्य कुरा हो ।

धर्म भनेको रुखको चुर हो, चुर नभएको रुख हूरिबतासले सजिल्लै भाँचिदिन सक्छ तर चुर भएको रुख भाँचिन्दैन । आफ्नो धर्म नभएकै कारण हो की? नेपालका आदिवासीहरु जसले जता हल्लाए पनि उतै हल्लिएका, भाँचिएका । हिन्दु हुने पनि धेरै आदिवासी, क्रिश्चियन धेरै हुनेपनि आदिवासी सम्भवतः आदिवासीहरुको संस्थागत र पूर्ण धर्मको विकास नभएकै कारण हो की? जुन समुदाय धर्ममा प्रष्ट र कट्टर छ के उनीहरु सजिल्लै रुपान्तरण भएको पाइन्न । धर्मको दर्शन, धर्मका कथा बर्णन, धर्मको कर्मकाण्डी विधिविधान, समाज ब्यवस्थापनको आंचारसहिता, उपचार विधि तथा संस्कार र आफनो मित्रपक्ष र शत्रुपत्र औल्याउदै आफूले मान्ने धर्म र धर्मालम्बि हुनुको शिरउच्चताले प्रत्येक्ष वा अप्रत्येक्ष शक्ति आर्जन भईरहेको हुन्छ भने पक्कै पनि धर्मको खास महत्व छ ।

विश्वविद्यालयहरुमा विश्वकै दोस्रो ठूलो धर्म इस्लामको सिद्धान्तलाई राजनैतिक सिद्धान्त हो भनी बहस तथा पठनपाठन शुरु गरेका छन् । विश्व प्रसिद्ध अक्सफोर्ड विश्व विद्यालयले इस्लाम धर्मलाई राजनैतिक सिद्धान्तको रुपमा लिएर बहस चलाईरहेको छ । धेरै अमेरिकनहरु इस्लाम धर्मलाई राजनैतिक सिद्धान्तको रुपमा लिन्छन । अमेरिकाको सुरक्षा सल्लाहकार माइकल फिलिनले नाजिजम, फाँसिजम, कम्युनिजम हुदै अहिले इस्लामिजम संग लडनुपरेको बताएका छन । फिलिनले प्रष्ट किटेरै इस्लामिजमलाई राजनैतिक सिद्धान्त भनेका छन । इस्लाम धर्मको सिद्धान्तलाई राजनैतिक सिद्धान्त मान्ने हो भने अरु धर्मको सिद्धान्त पनि राजनीति नै हो । हुन पनि धर्म र राजनीतिको उद्देश्य प्राप्ति एकै प्रकृतिका हुन्छन । त्यसैले राजनीति बुझ्नेले धर्मको महत्व बुझेको हुन्छ अर्थात धर्म नबुझि राजनीति बुझिन्न । धर्म सहायक कुरा होइन, प्रधान महत्वको विषय हो । त्यसैले धर्मलाई स्वेच्छिक तथा सहायक भन्नु सहि होइन ।

धर्म अनुसाशन अर्थात कोठेबारीको बार हो । बार नभए कोठेबारीको तुलफूल कुखुरा, बाख्राले खाईदिन्छ । मौलिकता भन्दै मानविय आदत भित्र पर्ने माङहिम निर्माण, मूर्ति पुजन र धर्मको सिमाबन्धनमा बस्न र राख्न नसके कुनैपनि बेला ढिलोचाडो अरु धर्मले प्रभाव पार्नेछ र लैजाने छ । त्यसैले मौलिकता भन्दै भौतिक रुपबाट देख्न, छुन र अनुभूत गर्न सक्ने संरचना बनाउन सकेनौ, संस्थागत गर्न सकेनौ भने आफै बिलाएर जान सक्छौ । यसरी समय सापेक्ष धर्म, संस्कार विकास र परिवर्तन हुन नसक्दा विश्वका धेरै आदिम जाति मासिन्दै गएका छन ।

धर्मशास्त्र मुन्धुममा किरात शब्द नभएकोले याक्थुङ किरात होइन्न, किरात धर्म भन्नु सहि होइन की भन्ने तर्क गर्नु अस्वभाविक होइन तथापी याक्थुङ (लिम्बु) जाति विभिन्न राष्ट्रियताबाट बनेको जाति हो । मुन्धुम आफैमा एक धर्मशास्त्र तथा धर्मकथा हो । कथा सत्य पनि हुनसक्छ, सत्य नहुन पनि सक्छ । मुन्धुम स्थान परिवेश अनुसार भिन्नभिन्नै पनि पाइन्छ । कुन मुन्धुमलाई मुख्य आधार मान्ने? अलिखित मुन्धुमलाई प्राज्ञिक हिसाबले आधार मान्न मिल्दैन पनि । लिखित मुन्धुम अत्यन्तै थोरै छ अर्थात अलिखित नै छ भन्न सकिन्छ । त्यसैले मुन्धुम अकाटय होइन । मुन्धुममा किरात भेटिएन भन्दैमा किरात होइनौ भन्न मिल्दैन । उसो त हिन्दुको गीता, रामायण र महाभारत भित्र पनि हिन्दु लेखिएको भेटिन्दैन के त्यसो भए हिन्दु (शब्द) धर्म होइन, हुन सक्दैन भन्ने? नाम आफै राखिन्छ वा अरु कसैले पनि राखि दिन्छन, किरात शब्द हिन्दु शास्त्र र इतिहासका पुस्तकहरुमा उल्लेख भएको पाइयो भन्दैमा किरात होइन भन्नु न्यायसंगत अवश्य होइन ।

लिम्बुवान राज्य पूर्नस्थापनाको आन्दोलनले सधै लिम्बुवानकै कुरा गरयो । सधै लिम्बुवानकै मात्र कुरा गर्न सिकायो । हिजो खम्वुवानलाई किरात राज्य भनी प्रस्तावित नामाकरण गरिनु खम्बु मात्र किरात हो भन्ने अर्थ लाग्दैन । अहिले पूर्वको १४ जिल्ला किरात प्रदेश हुनसक्छ भनी चर्चा चलिरहदा किरात खम्बु, किरात याक्थुङ लगायत सबै अटाउन सक्ने विरासत हो । देशको राजनैतिक उथलपुथलले अहिले किरात राज्य नामाकरण गर्न सकियो भने भोली लिम्बुवान बनाउन सकिने सम्भावना रहन्छ । तर अहिले कोशी वा सगरमाथा प्रदेश भएको खण्डमा पहिचानको मुद्धा पूर्णरुपमा टर्न सक्छ र लिम्बुवान पनि हुन सक्दैन र खम्वुवान पनि हुन सक्दैन तसर्थ यसलाई पनि ख्याल गर्न आवश्यक छ । उसो त किरात धर्म भनी याक्थुङहरुकै बाहूल्यता तथा याक्थुङ भाषाको मुन्धुम मार्फत बढि विस्तार र विकास भईरहेको छ । किरात धर्म भनी नेपालमा स्पष्ट पहिचान आएको छ । किरात धर्मालम्बीहरुले सुसभ्य संस्कार विकास गर्दै आएका छन । जसले समाजलाई ठूलो परिवर्तनको बाटोमा डोर्याइरहेको छ । यो आफैमा गर्व गर्न लायक प्रगति हो ।

किरात भन्ने वित्तिकै राई जाति, किरात धर्म भन्ने वित्तिकै इलामको लारुम्बाको सत्यहाँङ संस्कार मात्र बुझ्नुले यदाकदा समस्या थियो तर अब किरात भन्नाले लिम्बु, राई, याख्खा, सुनुवार, धिमाल, जिरेल, सुरेल, हायू लगायत समग्रमा किरात भन्ने प्रष्ट भईसकेको छ र किरात धर्म भित्र परम्परागत (धर्म), सत्यहाँङ, स्वर्गिक मार्गी, माङहिम बनाउनु पर्छ भन्ने युमा र माङहिम बनाउनु हुन्न भन्ने युमा, मुन्धुममा विश्वास गर्ने मुन्धुमवादी लगायत सबैसबै किरात धर्म भित्र पर्दछ भन्ने बुझाई वैज्ञानिक र ब्यवहारिक हो भन्ने मान्यता स्थापित भएको छ । किश्चियन भित्र क्याथोलिक, प्रोटिष्टेन, अर्थडक्स भने झै बुद्धिष्टि भित्र महायानी, बज्रयानी र थेरावादी हिनयानी भने जस्तै किरात भित्र पनि सत्यहाँङ, युमा, मुन्धुम, स्वर्गिक मार्गी र परम्परागतवादी सबैलाई अटाएर बुझ्नु बुद्धिमता ठहर्छ । मौलिकताको अवलम्बनु गर्नु परम्परागतवादी विश्वास (धर्म) हो । धर्मको संस्कारहरु पनि समय सापेक्ष सुधार हुदै जान्छ र जानुपर्छ भन्ने मान्यता राख्नु पर्दछ । विश्वका मुख्य धर्महरुले पनि समयको आवश्यकता अनुसार संस्कारहरुमा परिवर्तन र परिष्कृत गर्दै आएका हुन्छन ।

किरात धर्मको रुपमा सत्यहाँङ अर्थात लारुम्बाको संस्कार मात्र बढि चिनिए पनि परम्परागत, हिंशा वा हिंशारहित लगायतको संस्कारलाई किरात धर्मको संस्कारको रुपमा लिनु पर्दछ । लारुम्बाको केही संस्कारहरुमा धेरैका विमतिहरु पनि रहेका छन । त्यसलाई ख्याल गर्दै मौलिकता ल्याउन सुधारको निम्ति पहल गर्नुपर्दछ । आउदो जनगणनामा धर्मको महलमा किरात लेखौं भन्नुको अर्थ लारुम्बाको सत्यहाँङ संस्कार शतप्रतिशत सहि हो भन्न खोजिएको पक्कै होइन । लारुम्बाको संस्कारहरुमा सुधार, विकास र विस्तारको निम्ति पनि ठूलो आवाज गुञ्जिरहेको छ । र, मुन्धुम वा युमा भनिए पनि यी सबै किरात भित्रको एक हिस्साको रुपमा सुरक्षित छदैछ अर्थात किरात धर्म भन्ने वित्तिकै युमा पनि स्वतः समेटिन्छ ।

किरातजन्य संस्थाहरु किरात राई यायोख्खा, किरात याक्थुङ चुम्लुङ, सुनुवार सेवा समाज, किरात याख्खा छुम्मा, नेपाल थामी समाज, जिरेल संघ नेपालका केन्द्रीय नेतृत्वहरुले १५ असार २०६५ का दिन काठमाडौंमा सामुहिक रुपमा भेला भई सम्पूर्ण किरातहरुको धर्म किरात भनेर घोषणा गरिसकेको अवस्था आफैमा सुखद छ । नेपाल भित्र रहेका करिब १२ लाख किरातहरु सबैले आफ्नो धर्म किरात लेखाएको खण्डमा प्रदेश १ को नामाकरण देखि विभिन्न सेवासुविधामा पनि उल्लेख्य अवसरहरुको निम्ति राज्यबाट मागदावी गर्न सकिन्छ । जुन सुखद हुनेछ ।

केहीले युमाको पनि वकालत गरेको देखिन्छ यो पनि एउटा सकारात्मक कुरा हो । तर, युमा शब्द लिम्बु भाषाको शब्द, युमाको अर्थ बोजु भनिएको हो । तर छथरे भाषामा युमा शब्द छैन, युमाको सट्टा आत्थे भन्ने गर्दछन । विवाह गरेर पान्थर, फेदाप, मेवाखोले र तम्बरखोलाबाट ल्याईएका बुहारी संगै आउने युमा साम्माङलाई भने विवाहगरि ल्याउने परिवारले पुजाआजा गरिदिने चलन छ । त्यसैले युमा शब्दले सबै लिम्बुको पहिचान बोक्दैन । लिम्बु (याक्थुङ) जाति आफैमा तुलनात्मक थोरै जनसंख्या भएको जाति हो । त्यसमा पनि लिम्बु भित्रका सानो संख्याले मात्र युमाको वकालत गर्दा अत्यन्तै थोरै संख्यामा हुनेछ र नगन्य संख्यामा हुने उपस्थितीको कुनै प्रभाव हुनेछैन त्यसैले हामी सानो संख्यामा होइन ठूलो संख्याको निम्ति चिन्तन गर्नुपर्दछ । राज्यशक्ति प्राप्तिको निम्ति पहल गर्नुपर्छ नकी विगतमा झै महत्वपूर्ण यो पाटोलाई आँखा चिम्लिदा किरातहरु मानव विकासको चरण जातिबाट जनजाति अवस्थामा झरेको तितो यथार्थता विर्षनु हुन्न । धर्म स्वेच्छिक होइन यो त तपाई शिर ठाडो बनाएर हिड्ने की शिर निहुराएर हिड्ने हो निक्र्यौल गर्ने बिन्दु हो । तसर्थ किरातहरु धर्मको सम्बन्धमा वेप्रवाह हुनु पटक्कै हुदैन, लापरवाही गर्नु त हुदैहुदैन यो संवेदनशिल बिन्दुमा सबैलाई चेतना हुनु जरुरी छ । तपाई एकजनाले जनगणना बखत धर्म लेखाउन लापरबाही गर्दा सिंगो समुदाय र तपाईको सन्तान दरसन्तानले राज्यको अधिकार र अवसरबाट बंचित हुनेछन । त्यसैले किरात भित्र रहेको सांस्कृतिक विविधतालाई ख्याल गर्दै आउदो जनगणनामा सहभागी बनौं ।

नेपालमा कहिल्य पनि युमालाई धर्मको रुपमा मान्यता दिईएको छैन । युमा (बोजु) लिम्बुहरुको विभिन्न देवीदेवताहरु मध्ये एक देवता (साम्माङ) हो । युमाको वकालत गर्नेहरु स्वच्छन्दवादी, प्रकृतिवादी भएपनि भौतिक संरचना बनाउनु पर्छ भन्ने युमावादी जो भारतको सिक्किम र आसाममा रहेका छन भने अर्कोथरी युमाहरु भौतिक संरचना बनाउनै हुदैन मौलिकता मास्न र परिष्कार गर्नै हुदैन भन्ने हुनुले केही दुविधा ल्याएको छ तथापी समग्रमा नअल्मलिइकन, नअल्मलाईकन सबैसबै किरातहरुले आफनो धर्मको महलमा किरात लेख्नु र लेखाउनु नै सबैभन्दा बुद्धिमता ठहर्दछ । स–सानो झुण्डमा होइन सामुहिक शक्ति आर्जन अभियानमा लाग्नु आजको आवश्यकता हो । हाम्रो उद्देश्य भनेको धार्मिक स्वतन्त्रता सहितको धार्मिक समानता हो । समानता प्राप्त गर्नु संख्यात्मक उपस्थिती आवश्यक हुन्छ । धर्म राजनैतिक अधिकार र अवसर प्राप्तिको आधार पनि हो । जनगणनामा टिपाउने धर्म र घरमा पुज्ने कुल देवताको नाम बेग्लाबेग्लै हुने गर्दछ तसर्थ हाम्रो लक्ष्य कुल देवता होइन सामुहिक शक्ति आर्जनको निम्ति धर्म अर्थात आचरणमा प्रष्ट हुनु हो ।

किरातहरु प्रकृति पुजक भएकाले मन्दिर र मूर्तिहरु बनाउनु आवश्यक छैन भन्ने मान्यताहरु पनि पाइन्छन तथापी छुन सकिने, देख्न सकिने र अनुभूत गर्न सकिने धर्मस्थल र संस्कारहरु चाहाने मानवीय स्वभाव भएकोले मान्छेले आफू जसोजसो त्यस्तै सोच्छन र खोज्छन । विशेषतः हिन्दु, बुद्धिष्ट र रोमन क्याथोलिकहरुमा मूर्ति पूजन परम्परा भएको र मन्दिर, गुम्बा, मस्जिद, चर्च तथा मूर्तिहरु पुज्ने अभ्यासबाट आत्मा सन्तुष्टि लिने समाजिक बातावरणले पनि किरातहरुले माङहिम, माङखिम, थान, देवस्थल र मूर्तिहरु पुज्नु अस्वभाविक होइन । प्रकृति पुजक नै भएपनि प्रकृतिलाई सम्झनकै निम्ति पनि माङहिम चाहिनु स्वभाविकै हो । माङहिम भित्र बसेर नौंतले मुजोत्लुङ, खेजोत्लुङलाई पुज्नु एक सुन्दर पक्ष नै हो । विश्वका सबै धर्म यहि प्रकृतिमा सृष्टि भएका हुन, फरक यति हो कसैले धेरै मूर्ति पुज्छन, कसैले थोरै । परम्परावादी धर्म मान्ने जो बर्षमा एकाध पटक बाहिरी डाँडा, पाखामा पुजा गर्छन तर नियमित र पटक पटक त्यहि पुजा, त्यहि ठाँउमा गर्नुपरेको अवस्थामा पुजा गर्दागर्दै पानी पर्न सक्ने आदिआदि कारणले त्यहा ओथिने घर बनाइन्छ र अन्ततः त्यो माङहिममा परिणत हुन पुग्दछ । त्यसैले माङहिम बुन्नु पनि आवश्यक नै देखिन्छ ।

किन धर्म चाहियो त? माथि नै चर्चा गरे झै धर्म भनेको अनुसाशन हो अर्थात कोठेबारीमा बार हो । जहा कुखुरा, बाख्राबाट कोठेबारीको तुलफूल जोगाउदै, बचाउदै सप्रिएको तुलफूल फलाउनु हो । यदि बार नहोस त कोठेबारी, कोठेबारी नभई जुनसुकै चौपाय आएर चर्ने चरन बन्न सक्छ । अर्को उद्धाहरणः गाँउमा बेगारी काम अर्थात खेल्ने काममा उल्काएर लैजानु परयो भने सबैभन्दा पहिला बुबाआमालाई नटेर्ने फूच्चाफूच्चीलाई फकाईन्छ र उ जान्छ पनि । जो बुबाआमाले भनेको मान्दछ र अनुसासनमा बस्छ भने उसलाई उल्काएर लैजान सकिन्दैन र उ जादैन अनि फकाउन पनि गइन्दैन । हो ठिक त्यस्तै हो धर्म अर्थात अनुसासन ।

अर्को उद्धाहरण लिउ– धर्म र कर्ममा विश्वास गर्ने ब्यक्ति जो बिहानै पुजा गर्दा उसले दिनभर गर्ने कामहरु सफलहोस भनी कामना गर्दछ र एकाग्र भएर उ पुग्नुपर्ने ठाँउमा सरासर बाटो लाग्छ र बीच बाटैमा कसैले बसौ, गफगरौ भन्यो भनेपनि उ नअल्मलिइ बाटो लाग्छ किन भने उसले बिहानै पुजामा योजना तय गरि पुरा गर्ने प्रतिबद्धता गरेको हुन्छ । तर, धार्मिक कर्म नगर्नेले बिहान पुजा गर्दैन र पुग्न पर्ने ठाँउमा बाटो लाग्दा बीच बाटैमा कसैले बोलायो, बसौ गफगरौ आदि भन्यो भने उ बसेर अल्मलिन थाल्दछ र दिन त्यसै बित्दछ । हो ठ्याक्क यस्तै हुन सक्छ धर्मकर्म गर्ने र नगर्ने बीचको कर्म भिन्नता, तसर्थ धर्म भनेको कर्म गर्ने अनुसासन पनि हो । धर्म नमान्ने, धर्म प्रष्ट नभएको ब्यक्ति तथा समुदाय असाध्य कमजोर मनोवृतिको हुने र जसले पनि उसलाई सजिल्लै प्रयोग गर्न सक्ने देखिन्छ त्यसैले पनि धर्म र संस्कार अति आवश्यक छ । एकै धर्म भित्र पनि विभिन्न संस्कार हुने गरेको पनि देख्न सकिन्छ ।

धर्म भौतिक रुपमा देखिनु पनि आवश्यक हुन्छ । धर्म भित्रका संस्कारहरु समय सापेक्ष र स्थान सापेक्ष बन्नुपर्दछ । हिजोको इतिहास सम्झेर सधै त्यहि हुनुपर्छ भनेर अड्किनु हुदैन । सुधार र परिष्किृत गर्दै लैजानु पर्दछ । आवश्यकता अनुसार समाजमा के कुराको खाँचो छ उक्त कुरा औल्याई राम्रो समाज निर्माणको निम्ति आवश्यक थप चाडपर्वको समेत विकास गर्नु जरुरी हुन्छ । जसले समाजलाई सन्तुलित र सुसभ्य बनाउदछ र सिंगो जाति, समुदाय तथा धर्मालम्बीमा सशक्तिकरण गर्दै शक्तिशाली बनाउदछ अर्थात बन्न मद्दत गर्दछ । त्यसैले भन्ने गरिन्छ धर्म शक्ति र राज्यसत्ता प्राप्तिको मुख्य स्रोत हो । हरब्यक्ति र सिंगो समुदायलाई शक्ति दिने धर्मलाई हामी कसैले वेवास्त गर्न मिल्छ ?

किरात भित्र समस्याको उठानः इण्डियाको संविधानमा आदिवासी ट्राइबलमा दर्ता भएकालाई विशेष सुविधाहरुको ग्यारेण्टि गरेको छ । उक्त सुविधाहरु प्राप्त गर्न सिक्किमका लिम्बु, राई, सुनुवार लगायतले आ–आफनो जातिलाई ट्राइबलमा दर्ता गर्ने लहर चल्यो । यो लहर सन् १९७८ मा थियो । ट्राइबलमा दर्ता हुनको निमित्त आफ्नै भाषा, आफ्नै लिपी र आफनै धर्म हुनुपर्ने प्रावधान थियो । त्यसैले सबैभन्दा पहिला लिम्बुले किरात लिपीलाई लिम्बु (याक्थुङ) लिपी भनी दर्ता गरयो । राई ढिला भयो र राईले चाहि धर्म किरात भनी दर्ता गरयो तब लिम्बुले पनि धर्म दर्ता गर्नुनै पर्नेथियो किरात धर्म भन्ने नाम चाहि राईले लिईसकेको कारण युमा धर्म लेख्नुपरयो । अफसोच, किरात धर्म चाहि नेपालको भनी भारत सरकारले मान्यता दिएन र अलिपछाडी राईहरुले स्वर्गिक मार्गी भनी शुरुवात गरयो । किरात लिपी लिम्बुको भनी दर्ता भएकोले सिक्किमका सुनुवारले आफ्नै लिपी तयार गरे । राइले पनि तयार गरे वास्तवमा नयाँ बनेका दुबै लिपी मौलिक होइन्न र गलत हुन । सबैले एकै लिपी चलाउन सकिन्छ र सक्नुपर्छ । अन्तर्राष्ट्रिय अभ्यासलाई हेरौः ल्याटिन अल्फावेट (अंग्रेजी) लिपीलाई विश्वका १३० भाषाले प्रयोग गर्छन । मायान लिपीलाई विश्वका ३२ भाषाले प्रयोग गरे झै तिन दर्जन किराती भाषीले किरात लिपी प्रयोग किन नगर्ने ?

लिम्बु भित्र किरात र युमाको बहसलाई पर्गेल्दाः युमा साम्माङको पुजा नगर्ने लिम्बु सायदै हुन्छन अर्थात सबैले मान्छन । नेपाली इतिहासको मुख्य आधार मानिने मध्येको ईमानसिंह चेम्जोङकृत पुस्तकहरुका नाम र उनको खोजमै प्रष्ट छ । अन्य कैयौ स्रोतहरुले नै प्रमाणित गर्छ किरातहरु को को हुन भन्ने कुरा बरु कुनैपनि इतिहासको पुस्तकमा याक्थुङ चाहि किरात होइन भनेर लेखिएको भेटिन्दैन । र, याक्थुङ शब्दको लिखित ईतिहास भेटिन्न भने लिम्बु शब्दको शूरुवात नै वि.स. १८३१ अर्थात २४६ अघिबाट मात्र भएको देखिन्छ । लिम्बु (याक्थुङ) को उत्पति मना तेम्बे भन्ने गरिन्छ । र, किरात सभ्यता हो भन्नेमा विवाद छैन त्यसैले जातिहरुमा लिम्बु, खम्बु, सुनुवार आदि हुनु स्वभाविक हो । हिन्दु धर्म पनि पहिला सभ्यता नै थियो । त्यसमा पनि यसरी नै वेमेल भएर एकले गरेको संस्कार अर्कोले नगर्ने भन्दै आ–आफ्नै सम्प्रदाय बनाए, शिव मार्गी, कृष्ण प्रणामी, वैष्णव, साईबाबा, ओमशान्ति आदि आदि तर अन्तमा उनीहरु सबै हिन्दु नै हुन् भन्ने कुरामा दुईमत कहिं पनि देखिदैनन् भने किरात सभ्यताको विरासत अकाटय छ र किरात सभ्यता, किरात धर्म भन्नुमा किन आपत्ति?

को हुन किरात र कसरी स्थापित भयो किरात? ‘किरात कालिन विजयपुरको ईतिहास’ (चेम्जोङ, २००७) अनुसार मगर र गुरुङलाई समेत किरात भनी समेटेको छ । याक्थुङ भाषाको केरेक र ओतिबाट किरात भएको, किरात शब्द कैलाश शब्दबाट अप्रभ्रङ्स भएको एकथरी मान्यता राख्दछन भने खम्बु मुन्दुम अनुसार किरावाचीबाट किराँती, किरात भएको हो भन्ने अर्को मत पनि पाइन्छ । सुब्बा प्रेमबहादुर माबोहाङको अनुसार स्वयम्भु मनुका मंगोल नामका एक पुत्र थिए । उनका (१) मुना इङवा, (२) थोबोइङबा र (३) योबोइङबा गरी ३ जना छोराहरु थिए । मुना इङवाका पुत्र किरात इङवा थिए । किरात इङवाका दश जना छोराहरु थिए उनीहरु नै आधुनिक किरातीहरुका पूर्खा हुन भनी लिम्बुवानको ऐतिहासिक अध्ययन नामक पुस्तकको पेज ९ मा लेखक शिवकुमार श्रेष्ठले उल्लेख गरेका छन् । सोहि पुस्तकको पेज १० मा ब्रायन हड्सनका अनुसार, ‘राष्ट्रको रुपमा किरातीहरुको प्राचिनता प्रष्टरुपमा पत्ता लगाउन सकिने भएकोले र भाषाको विचित्र बनावटले गर्दा सायद सबै हिमाली जातीहरु मध्ये उनीहरु चाखलाग्दा छन’ भनिएको छ ।

नेपालको प्राप्त इतिहासमा गोपालवंशी, महिषपालवंशी पछि किरात वंशीको शासन रहेको र त्यसपछि लिच्छिवीवंशी, मल्लवंशी र शाहवंशी युग हुदै अहिलेको युगमा आईपुगेको भेटिन्छ । नेपालमा शासन गर्ने चौथो पुरानो जाति किरात जाति हुन । नेपालमा भेटिएको सबैभन्दा पुरानो ईतिहास गोपालराजवंशावली अनुसार ३२ पुस्ता किरातहरुले नेपालमा शासन गरेका थिए । किरातहरुको पहिलो राजा यलम्बरले ३७९९ (सन् २०२०) अघि शासन शुरु गरेका थिए । किरातहरु नेपालको पूर्वी भाग हुदै भारतको उत्तरपूर्वी ईलाकामा बसोवास गर्ने गर्दछन् । किरात भित्र झण्डै एक दर्जन जातिहरु छन र झण्डै ३६ भाषाहरु बोल्ने गर्दछन । भाषा बेग्लाबेग्लै भएपनि सबै भाषीहरुको लिपी किरात लिपी हो ।

के हो किरात धर्म? बि.स. २०५७ मा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय महासम्मेलनले प्रष्ट संग परिभाषित गरेको छ । किरात कुलमा जन्मिएर अर्कै धर्ममा दीक्षित भई धर्म परिवर्तन गरेर नगए सम्म भोगबलि चढाएर वा नचढाएर, मुन्धुम पढेर वा फलाकेर कुनैपनि विधीले आफ्नो कुलको पुजा तथा देवीदेवताको पुजा गर्नेहरु किरात धर्म मान्ने किरातधर्मी हुन । साथै, जो कोहि किरात भित्रको कुनै पनि संस्कार तथा अनुशासन स्वीकार गरेर प्रतिज्ञा गर्ने जो कोहि पनि किरातधर्मी हुनेछ भनिएको छ ।

निरंकुश पंचायती ब्यवस्थाकै बेलामा वि.स. २०३६ सालमा आत्मानन्द लिङदेनको अध्यक्षतामा किरात धर्म तथा साहित्य उत्थान संघको औपचारिक दर्ता पान्थरमा भएको हो । र, प्राप्त डकुमेन्ट अनुसार वि.स. २०२० सालमा छापिएको ‘मेची अंचलको भूगोल’ नामक पुस्तकमा पूर्वी नेपालका राई, लिम्बुहरुले प्राचीन किरात धर्म मान्दछन भनी लेखक बलवीर सिंह नेगीले लेखेको पाइन्छ । जुन पुस्तक त्यो बेला कक्षा ५ सम्म पढाई हुन्थ्यो । इतिहासको विशाल विरासत बोकेको किरातहरुले त्यो भन्दा अगाडि नै धर्मको रुपमा तथा संस्कारको रुपमा किरात भन्ने गरेको हुनसक्ने अनुमान गर्न सकिन्छ किन की धेरै इतिहासको पुस्तकहरुमा करिब ५ हजार बर्ष अगाडी किरात शासन थियो र किरात सभ्यता थियो भनिएको छ । धर्म नभई सभ्यता प्रायः असम्भव हुने भएकोले प्राचीन कालमै किरात धर्म थियो भन्न सकिन्छ । त्यसैले किरात धर्म प्राचीन धर्म मध्ये कै एक मान्न सकिन्छ ।

अन्तमा, प्राप्त जानकारी अनुसार यसअघि राष्ट्रिय जनगणनाको प्रशोधन पछि तथ्याङ सार्वजानिक गर्ने बेलामा पशुपति सेनाको नामबाट हिन्दु धर्मको प्रतिशत घटेको अर्थात पहिला भन्दा कम प्रतिशत सार्वजानिक भएको खण्डमा भौतिक कार्वाही गर्ने धम्कि समेत आउने गरेको सुनिन्छ । यसले के दर्शाउदछ भने कान्छो शासक बर्गलाई पनि धर्मको प्रतिशत बढि चाहिन्छ भने किरातहरुलाई चाहिने की नचाहिने? धर्मकै कारण गोरुगाई काटेको निहूमा जेल बस्नु परिरहेको किरातहरुलाई सामुहिक शक्ति आर्जनको स्रोत धर्ममा एकता हुन आवश्यक सम्झने की नसम्झने? संमग्रमा धर्म, सत्ता र शक्ति आपसमा अन्तरसम्बन्धित भएको प्रष्ट देखिन्छ । किरातहरुमा सामुहिक दायित्व त छदैछ धर्मलाई हामीले आफ्नो अधिकार उपभोगकै निमित्त पनि सहि र प्रष्ट उल्लेख गर्न जरुरी देखिन्छ । त्यसैले प्रत्येक नेपालीले आआफ्नो पहिचानको धर्म उल्लेख गरौ । किरात धर्म भित्रका संस्कारहरुको सुधारको निम्ति पनि निरन्तर बुलन्द आवाज उठाउदै, आउदो राष्ट्रिय जनगणना २०७८ को धर्मको महलमा सम्पूर्ण किरातहरुले किरात धर्म लेखौं र लेखाऔं ।

१० सेप्टेम्बर २०२०, आसफोर्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *