नेपालीहरुले मनाउने विभिन्न चाडहरु मध्ये एक मुख्य चाड हो उधौली चाड । यस चाडलाई नेपाल सरकारले किरात उधौली चाड भनेर मान्यता प्रदान गरेको छ र उक्त दिन किरातहरुलाई छुट्टि दिने ब्यवस्था छ । यस चाडलाई किरात समुदायले आफ्नो मुख्य चाडको रुपमा मान्दै आएका छन् । यस उधौली चाडलाई लिम्बुहरुले चासोक तङनाम, राईहरुले साकेला, साकेन्वा, किरात याख्खाहरुले चासुवा र किरात सुनुवारहरुले फोलष्याँदर भन्दछन् । किरात भित्र राई, लिम्बु, सुनुवार, याख्खा, जिरेल, सुरेल, हायु, धिमाल, थामी आदि लगायतका जातिहरु पर्ने भएको हुँदा यस चाडलाई मनाउने तरिकाहरु पनि जाति, स्थान र संस्कार अनुसार फरक–फरक पाईन्छ ।
किरातीहरु प्रकृति पुजक हुन् । किरातीहरुले खोला, नदीमा पाइने माछा ओरालो (उँधो) धेरै पानी भएको ठाँउतिर फर्किएको समयलाई उधौली भन्दछन् । यो उधौलीमा किरातीहरुले उधौली पुजा गर्छन् । यो उधौली पुजाको प्रचलन आदिमकालदेखि नै चलिआएको हो । यस चाडलाई न्वागी अर्थात भूमि पुजा पनि भनिन्छ । यो उधौलीमा आफ्नो पुर्खाहरुलाई अन्न, फलफूल आदि चढाएर यो न्वागी अर्थात भूमि पुजा गरिन्छ ।
यो उधौली चाडमा आ–आफ्नो संस्कृति झल्काउने पोशाकहरु लगाएर आ–आफ्नो जाति बिशेषको नाच नाच्छन् । लिम्बुहरुले केलाङ, माङलाङ, कुस्रोक्पा, लगायतका नाचहरु च्याब्रुङ बजाउदै नाच्छन् र हात समाएर धान नाच (यालाक्मा) नाच्छन् । राईहरुले हातमा झ्याम्टा, ढोल, चमर (चौरीको पुच्छर) र सिलीमा (फलामद्धारा निर्मित सिरलिङ्गे) लिएर विभिन्न शैलीका साकेन्वा सिली नाच्छन् । त्यस्तै, सुनुवारहरु ढोल बजाएर ष्यादरशिल नाच्छन् । याख्खाहरु हात समाएर चावाकलाक र च्याब्रुङ बजाएर केइलाक नाच्छन् ।
यस चाडमा संसारभरिका किरातीहरुले एकआपसमा शुभ कामना साटासाट गर्छन । एकै इलाकामा रहेकाहरु भेला भएर किरातहरुको पहिलो राजा यलम्बरलाई सम्झेर मुन्धुम फलाक्दै पुजा गर्ने गर्दछन र दुःख सुख आपसमा साट्दछन् । अपरिचित व्यक्तिहरु एकआपसमा चिनजान गर्छन् । चेली, माइती, आफन्त, नातागोता, कुलकुटुम्बलाई आफ्नो घरमा बोलाएर मिठो मसिनो खुवाउँछन् ।
यस चाडलाई विशेषतः मेलमिलापको चाडको रुपमा पनि मनाइन्छ । बर्षभरिमा कसैसँग मनमुटाव रहेको खण्डमा साइनोले कान्छो ब्यक्तिले जेठो साइनोको घरमा कोशेली लगेर गइ बोलचाल गर्छन् । साइनोमा जेठोले आफ्नो घरमा आएकालाई माया र आदर गर्नुपर्दछ । अतः यो चाड सामाजिक सहिष्णुताको प्रतिक पनि हो ।
यो चाडको समयमा आकाशमा पूर्ण आकारको चन्द्रमा देखिने, कतै लहलह बालीनाली हुने, कतै अन्नबालीले भकारी टम्म भरिएको हुने हुँदा यो चाड खुशी, सुख र संमृद्धीको चाड पनि हो । यो चाडमा धनी र गरिब कुनै भेदभाव हुदैन । यस्ता चाडपर्वहरु सबैको साझा सम्पति हुन् । कसैको पेवा र निजी हुदैन्न । अतः इच्छुक सबैले यस चाडलाई आआफ्नो तरिकाले मनाउने गर्दछन् । त्यसैले सुख र खुसिको यस उधौली चाड साझा र लोकप्रिय चाडमा स्थापित हुन पुगेको छ ।
त्यस्तै उधौली चाड संग जोडिएको अर्को चाड हो उभौली । खोला, नाला, नदीहरुमा पानीको मात्र बढ्दै जाँदा माछाहरु उकालो (उभो) आउने समय वैशाखे पूर्णिमामा चाहि उभौली चाड मनाउने प्रचलन रहेको छ । खेतीपाती शुरु गर्नुपूर्व बालीनाली राम्रोहोस भन्ने कामना गरि उभौली पुजा गर्ने गरिन्छ । पुजामा किरातहरुको पहिलो राजा यलम्बरलाई सम्झेर मुन्धुम फलाक्ने गर्दछन् । यस उभौलीलाई पनि किरात समुदायले भब्यताको साथ मनाउने गर्दछन् ।
बर्षमा एकपटक मात्र मंसिर पूर्णिमाको दिन मनाइने यस उधौली चाडले सबैको खुशी र सुःख बोकेर मनमस्तिकदेखि घरआँगन सम्म आउने गर्दछ । यस चाडको शुभ साइतमा सबैलाई शुभ कामना ।
biswasdip@ymail.com
२०१२, ब्रुनाई
नोट: तीन दिन किरात चाड घोषणा गरी अधिराज्यव्यापी विदादिने व्यवस्थाको लागि चारै किरात संस्थाहरूको संयुक्त प्रयासमा को सरकार समक्ष माग प्रस्तुत गरिएकोमा मङ्सिर पूर्णेका दिन एक दिन मात्र अधिराज्यका सम्पूर्ण किरात धर्मावलम्बीहरूलाई विदा दिनेगरी को सरकारबाट किरात चाडको घोषणा भएको कुरा २०५८ साल पुस १४ गतेको विभिन्न सञ्चार माध्यम र खण्ड ५१ संख्या ५० नेपाल राजपत्र भाग ४ मिति २०५८/१२/२६ को राजपत्र समेतबाट प्रचारप्रसार भएको कुरा सर्वविदितै छ।