नेपालीहरुले मनाउने विभिन्न चाडहरु मध्ये एक मुख्य चाड हो उधौली चाड । यस चाडलाई नेपाल सरकारले किरात उधौली पर्व भनेर मान्यता प्रदान गरेको छ र उक्त दिन किरातहरुलाई मात्र छुट्टि दिने ब्यवस्था छ । यस चाडलाई किरात समुदायले आफ्नो मुख्य चाडको रुपमा मान्दै आएका छन् । यस उधौली चाडलाई लिम्बुहरुले चासोक तङनाम, राईहरुले साकेला, साकेन्वा, किरात याख्खाहरुले चासुवा र किरात सुनुवारहरुले फोलष्याँदर भन्दछन् । किरात भित्र राई, लिम्बु, सुनुवार, याख्खा, जिरेल, सुरेल, हायु, धिमाल, थामी आदि लगायतका जातिहरु पर्ने भएको हुँदा यस चाडलाई मनाउने तरिकाहरु पनि जाति, स्थान र संस्कार अनुसार फरक–फरक पाईन्छ ।

किरातीहरु प्रकृति पुजक हुन् । उनीहरुले मुन्धुममा आधारित चाडपर्व मनाउछन । किरातीहरुले खोला, नदीमा पाइने माछा ओरालो (उँधो) धेरै पानी भएको ठाँउतिर फर्किएको समयलाई उधौली भन्दछन् । मंसिर देखि खोलामा पानी सुक्दै जाने भएकोले माछा ठूलो पानी भएको तर्फ ओह्रालो झर्ने गर्दछ । यो अवसरमा प्रकृतिपुजकहरूले उधौली पुजा गर्ने गर्दछन् । यो उधौली पुजाको प्रचलन आदिमकालदेखि नै चलिआएको हो । यस चाडलाई न्वागी अर्थात भूमि पुजा पनि भनिन्छ । मंसिर पूर्णिमाको दिन मनाईने उधौली चाडमा आफ्नो पुर्खाहरुलाई अन्न, फलफूल आदि चढाएर न्वागी अर्थात भूमि पुजा गरिन्छ ।

यो उधौली चाडमा आ–आफ्नो संस्कृति झल्काउने पोशाकहरु लगाएर आ–आफ्नो जाति बिशेषको नाच नाच्छन् । लिम्बुहरुले केलाङ, माङलाङ, कुस्रोक्पा, लगायतका नाचहरु च्याब्रुङ बजाउदै नाच्छन् र हात समाएर धान नाच (यालाक्मा) नाच्छन् । राईहरुले हातमा झ्याम्टा, ढोल, चमर (चौरीको पुच्छर) र सिलीमा (फलामद्धारा निर्मित सिरलिङ्गे) लिएर विभिन्न शैलीका साकेन्वा सिली नाच्छन् । त्यस्तै, सुनुवारहरु ढोल बजाएर ष्यादरशिल नाच्छन् । याख्खाहरु हात समाएर चावाकलाक र च्याब्रुङ बजाएर केइलाक नाच्छन् ।

यस चाडमा संसारभरिका प्रकृतिपुजकहरूले एकआपसमा शुभ कामना साटासाट गर्छन । एकै इलाकामा बसोवास गर्नेहरु एकठाँउमा भेला भएर मुन्धुम÷मुन्दुम फलाक्दै पुजा गर्ने गर्दछन र दुःख सुख आपसमा साट्दछन् । अपरिचित व्यक्तिहरु एकआपसमा चिनजान गर्छन् । चेली, माइती, आफन्त, नातागोता, कुलकुटुम्बलाई आफ्नो घरमा बोलाएर मिठो मसिनो खुवाउँछन् ।

यस चाडलाई विशेषतः मेलमिलापको चाडको रुपमा पनि मनाइन्छ । बर्षभरिमा कसैसँग झगडा, मनमुटाव रहेको खण्डमा साइनोले कान्छो ब्यक्तिले जेठो साइनोको घरमा कोशेली लगेर गइ बोलचाल गर्ने गर्दछन् । साइनोमा जेठोले आफ्नो घरमा आएकालाई माया र आदर गर्नुपर्दछ । अतः यो चाड सामाजिक सहिष्णुताको प्रतिक पनि हो ।

यो चाडको समयमा आकाशमा पूर्ण आकारको चन्द्रमा देखिने, कतै लहलह बालीनाली हुने, कतै अन्नबालीले भकारी टम्म भरिएको हुने हुँदा यो चाड खुशी, सुख र संमृद्धीको चाड पनि हो । यो चाडमा धनी र गरिब कुनै भेदभाव हुदैन । यस्ता चाडपर्वहरु सबैको साझा सम्पति हुन् । कसैको पेवा र निजी हुदैन् अतः इच्छुक सबैले यस चाडलाई आआफ्नो तरिकाले मनाउने गर्दछन् । यो चाड मंसिरमा पर्ने भएकोले रमाईलो मौषमसँगै सुख र खुसिको साझा चाडको रुपमा स्थापित हुन पुगेको हो ।

उधौली चाड सँगै जोडिएको अर्को चाड हो उभौली । खोला, नाला, नदीहरुमा पानीको मात्र बढ्दै जाँदा माछाहरु उकालो (उभो) आउने समयको शुरुवात हुने वैशाखे पूर्णिमामा चाहि उभौली चाड मनाउने प्रचलन रहेको छ । खेतीपाती शुरु गर्नुपूर्व बालीनाली सप्रियोस, खडेरी नलागोस, बालीमा रोग नलागोस भन्ने कामना गरि उभौली पुजा गर्ने गरिन्छ । यस उभौलीलाई पनि प्रकृतिपुजकहरूले भब्यताको साथ मनाउने गर्दछन् ।

लिम्बु, राई, याख्खा र सुनुवारको जातिय उत्थान संस्थाहरुको संयुक्त प्रयासमा मङ्सिर पूर्णेताका त्रयोदशी, चतुर्दशी र पूर्णेसम्म तीनदिन किरात चाडको उपलक्ष्यमा देशव्यापी सार्वजनिक विदाको घोषणा गरी पाउन नेपाल सरकार (तत्कालिन श्री ५ को सरकार) समक्ष माग प्रस्तुत गरेको थियो र मङ्सिर पूर्णेका दिन, एकदिन किरात चाड भनी मान्यता प्रदानगरी सो दिन देशभरिका किरात धर्मावलम्बीहरूलाई वि.सं. २०५८ सालदेखि सार्वजनिक विदादिने घोषणा नेपाल सरकारको राजपत्र भाग ५० अङ्क ५१, मितिः २०५८/१२/२६ को राजपत्रमा सरकारको सूचना प्रकाशित भयो । बीचमा सार्वजानिक छुट्टि हटाउने सरकारको निर्णयमा पुनः आन्दोलन भयो, यो आन्दोलनमा नेपाल आदिवासी जनजाति महासंघको पनि उल्लेख्य योगदान रहयो । नेपाल संघीय संरचनामा गईसकेपछि भने प्रदेश न १ ले एकदिने विदा दिने गरेको छ । सरकारको राष्ट्रिय स्तरको निर्णय भएको र सबै जातिको चाड नेपालको राष्ट्रिय चाड हुनुपर्छ भन्ने मान्यताको कारण यसलाई नेपाली राष्ट्रिय चाड किरात उधौली पनि भन्ने गरिन्छ ।

लिम्बूहरू जो आफूले आफैलाई चाहि याक्थुंग भन्दछन र उनीहरू यस उधौली÷चासोक तङ्नामलाई स्वस्फुर्त घरघरमा लामो समय अघिदेखि मनाउदै आएपनि भब्यतापूर्वक २०५१ सालदेखि सुरु गरेको हो ।

बर्षमा एकपटक मात्र मंसिर पूर्णिमाको दिन मनाइने यस उधौली चाडले सबैको खुशी र सुःख बोकेर मनमस्तिकदेखि घरआँगन सम्म आउन सकोस । यस चाडको सबैलाई शुभ कामना ।

biswasdip@ymail.com
२०१२, ब्रुनाई

नोट १: तीन दिन किरात चाड घोषणा गरी अधिराज्यव्यापी विदादिने व्यवस्थाको लागि चारै किरात संस्थाहरूको संयुक्त प्रयासमा को सरकार समक्ष माग प्रस्तुत गरिएकोमा मङ्सिर पूर्णेका दिन एक दिन मात्र अधिराज्यका सम्पूर्ण किरात धर्मावलम्बीहरूलाई विदा दिनेगरी को सरकारबाट किरात चाडको घोषणा भएको कुरा २०५८ साल पुस १४ गतेको विभिन्न सञ्चार माध्यम र खण्ड ५१ संख्या ५० नेपाल राजपत्र भाग ४ मिति २०५८/१२/२६ को राजपत्र समेतबाट प्रचारप्रसार भएको कुरा सर्वविदितै छ।

नोट २:
किरात याक्थुङ चुम्लुङ्ले लिम्बु याक्थुङ्को प्रमुख चाड चासोक भएको र यसलाई सामुहिक मनाउने वि.सं. २०४९ सालको धरानमा सम्पन्न दोस्रो महाधिवेशनले निर्णय गरेको हो । हल्ला भएजस्तो कोठामा निर्णय नभई अनेकौ तहको अन्तर्कृया बहस र अध्ययन प्रतिवेदन प्रस्तुत भइ निर्णय भएको हो ।

बहस र अध्ययन प्रतिवेदन आधार मै विधि सहित त्यसपछिको २०५०/०५१ को परिषद बैठकले निर्णय गरि फेदेन तेस्रो महाधिवेशनले पारित गरेको हो ।

शुरुमा चासोक कार्तिक पुर्णिमाको दुई दिन अघि मनाउन शुरु गरि पुर्णेको दिन अन्तिम दिन हुने निर्णय थियो । सो अनुसार पहिलो दिन घरमै चासोक गर्ने, हुक्वा आदानप्रदान गर्ने, घर परिवारमा राम रमाइलो गर्ने, दोस्रो दिन समाज तहको चाड मनाउने सो अनुसार लिम्बु जन्य खेलकुद गर्ने, सांझ सामुहिक चोमेन तङ्सिङ गर्ने, तेस्रो दिन (यो पटक हिजो १८ गते) तङ्सिङ समापन गर्ने, सामुहिक रामरमाइलो गर्ने, या?राक्मा, हाक्पारा साम्लो गर्ने र चासोक समापन हुने भन्ने थियो ।

चुम्लुङ स्थापनको झन्डै पाउने दशक पछि अन्य संघ संस्थासँग मिलान गर्ने र राज्यलाई दवाब दिन सामुहिक शक्ति (सामुहिक बिदा) आवस्यक भनि कार्तिक पुर्णिामाको साटो मंसिर पुर्णिमामा चासोकको मुख्य दिन गर्ने र सोको तिन दिन अघि मनाउन शुरु गर्ने भन्ने निर्णय भयो । विधि प्रक्रिया पुरानै थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *