Author Archives: kirat

काठमाडौं उपत्यकामा उधौलीको धुमधाम

मंसिर १७, २०७४-पूर्व ‘किरात प्रदेश’बाट काठमाडौं उपत्यकामा आएर बसोबास गर्ने किरातीहरुले आइतबार ललितपुरको सानो हात्तिवनस्थित किरात धार्मिकस्थल (किरात माङहिम)मा विधिवत् नयाँ अन्न धान, अदुवा, मर्चा, पानीलगायत मुन्धुविधिअनुसार पूजाआजा गरी उधौली चाड मनाउन सुरु गरेका छन् ।

इतिहासविद् मन्जुल याक्थुम्बा लिम्बूका अनुसार उक्त धार्मिक वन वि.सं.१९०५ देखि तत्कालीन नेपाली सेनाको किरात पल्टनमा कार्यरत किरात सैनिकले यसरी पूजाआजा गर्न थालेका र त्यसयता निरन्तर रहेको छ । राई, लिम्बु, याक्खा र सुनुवार जातिको सामाजिक संस्थाले माग गरेअनुसार सरकारले २०५८ सालमा मंसिरेपूर्णिमा तिथिलाई किरात चाड घोषणा भएको थियो भने ०६४ सालदेखि उभौली वैशाखेपूर्णिमा समेत किरात चाडकै रुपमा घोषणा गरी सार्वजनिक बिदा दिइँदैआएको छ । मंसिरेपूर्णिमादेखि यो चाड करिब दुई महिनासम्म नाच्ने गरिन्छ ।

किरात चाड अर्थात् चासोक तङ्नाम – प्राज्ञ अमर तुम्याहाङ

शुष्कतामा पारिलो घामको न्यानोपन । अन्नबाली भित्राइएको याम । पल्लो किरात लिम्बुवानका साथै पूरै महाभारत पर्वतश्रृङ्खला अर्थात् पहाडी गाउँका बारीमा पैयौँ ढकमक फुलेको मनोरमता । चराचुरुङ्गीहरू औलतिर लागेका र तितेमाछादेखि अन्य जलपायी प्राणीहरू यसअघि नै आफ्नो अनुकूल तापक्रम भएको दक्षिणी जलक्षेत्रतिर झरिसकेको अवस्था । यही ऋतु परिवर्तन अर्थात् सूर्यको दक्षिणायनसँगसँगै मनाइने चाड हो किरात चाड चासोक तङ्नाम ।

दुई शताब्दी बढी एकात्मक राज्यसत्ताको ठिहीले नराम्ररी कठाङ्ग्रिएको किरात चाड तासोक तङ्नाम सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उषा–उदयपछि तङ्ग्रिँदै छ । यसै क्रममा किरात चाड चसोक तङ्नामले मूलत किरात लिम्बूहरू गुलजार रहेको पूर्वी नेपाल लिम्बुवानको गाउँघर, उनीहरू बसाइँसराइ गरी बसेका सहरबजारमात्र होइन प्रवास समेत किरात चाड तासोकमय हुने गरेको छ । त्यही अवसर पुनः एक वर्षको समय चक्र पूरा गरी हाम्रो सामु टुप्लुक्क आइपुगेको छ ।

किरात लिम्बू जाति स्वपहिचान भएको पृथक समुदाय हो । याक्खाहरूले ‘चोसोवा’, सुनुवारहरूले ‘शाँदर’, राईहरूले ‘सेमुना साकेन्वा’, हायुले ‘कागुनी न्वागी’, जिरेलले ‘न्वागी चास्या’ माने पुरकारेजस्तै किरात लिम्बू समुदायले किरात चाडलाई चासोक तङ्नाम भनी मान्ने गर्दछन् ।

आदिवासी जनजातिको स्वपहिचान गर्ने आत्मनिर्णयको आधारमा किरात लिम्बू जातिले मान्ने चाड किरात चाड चासोक तङ्नाम हो भनी मान्ने गरेका छन् । आराध्यदेव, प्रकृति तथा पितृ पुजक किरात लिम्बू जातिले मान्ने यो चाड मुन्धुममा आधारित छ ।

मुन्धुम र किरात चाड

किरात वंश भित्रका याक्खा सुनुवार, लिम्बू, राई, हायु, जिरेल, सुरेल, धिमाल जातिको बसोबास पृथक भूगोल, फरकफरक भाषा आदिको कारणले किरात चाडको नाम, मुन्धुमी प्रसङ्गहरू, पूजा गर्ने देवीदेवता, पूजा विधि, पुजारीका नाम आदि पनि फरकफरक रहेको पाइन्छ । हुन पनि मुन्धुममा ‘किरात चाड’ शब्द कतै भेटिँदैन । ‘किरात’ र ‘चाड’ शब्द अन्य भाषाबाट किरात समुदायमा आएको आगन्तुक शब्द हुन् ।

याक्खा जातिले मान्ने चाड ‘चोसोवा’, सुनुवार जातिले मान्ने चाड ‘शाँदार’, लिम्बु जातिले मान्ने चाड ‘चासोक तङ्नाम’ र राई जातिले मान्ने चाड ‘साकेन्वा’ वा ‘साकेला’ भन्ने शब्दहरू लोकप्रचलित छन् ।

याक्खा र सुनुवार जातिले पाकेको नयाँ अन्न पितृलाई चढाउँने गर्दछन् । लिम्बू जातिको विश्वासअनुसार सर्वशक्तिमान माङ तागेरानिङ्वाफुमाले यम्भामी पोरोक्मिलाई सारा सृष्टि गर्न लगाउनुका साथै मानव आहाराको लागि अन्नपातको बीउबिजन दिएकाले पाकेको नयाँ अन्न उनैलाई चढाउँने गर्दछन् । उनीहरूको थप विश्वास यो पनि छ कि बीउहरू याम मिलाएर रोप्न, गोडमेल गर्न, फलाउन र आगोमा पकाइतुल्याई खान सिकाउने कार्य सावा येहाङ (आदिम मानव) की चेली सिबेरा एक्थुम्मा सिबेरा येभुङ्गेक्माले सिकाइन् । त्यसैले लिम्बू जातिले यिनै पात्रलाई मूलरूपमा पूजा गर्ने वा नयाँ अन्न चढाउँने गर्दछन् । यी बाहेक पनि लिम्बूहरूले युमा, थेबा, काप्पोबा, थुङधाङबा, आदि घरभित्र पुजिने देवताहरूलाई न्वाँगी चढाउँने गर्दछन् । शुभकार्यमा बिघ्नबाँधा ल्याउने मिसेक, कुइकुदापको पनि पूजा गरिन्छ । राई जातिले भने आफ्नो आदि पुर्खा पारुहाङ र सुम्निमाको प्रतीक सेतो र कालो शिला गाडी पूजा गर्नेगर्दछन् । पूजापछि जङ्गलमा सिकार खेल्ने, भस्मे या खोरिया फाँड्ने, बस्ती बसाउने, अन्नबालीको बीउ पत्ता लगाउने, खेती गर्नेजस्ता सीपहरू नृत्यको माध्यमबाट राईहरू प्रस्तुत गर्ने गर्दछन् ।

यी सबै आख्यान तथा विधिविधानहरू मुन्धुमसँग जोडिएका छन् । यी विधिविधानहरू सजातीय पूजारीहरू जस्तै फेदाङ्मा (लिम्बू), नाक्छोङ (राई), ना?सो (सुनुवार), फोम्बो (जिरेल), फोचो (हायु) द्वारा पम्पादन गरिन्छ ।

प्रकृति पूजाको रूपमा किरात चाड

तागेरानिङ्वाफुमा माङ, निनाम्मा जस्ता सर्वशक्तिमान ईश्वरको पूजा मात्र होइन, किरात चाड । पृथ्वी (भूमि), आकास, जल, वायु, अग्नी, चन्द्र, सूर्य, पशुपक्षी, वनस्पती आदिको पूजा अर्चना पनि हो किरात चाड । मानव समुदायले आफ्नो प्राण धान्नका लागि खाने सबै प्रकारका अन्नबाली, फलफूल उत्पादनमा यी तत्वहरूको भूमिका अपरिहार्य रहेको हुन्छ । खेतीपातीमा उपरोक्त तत्वहरूको त्यही अहम् भूमिकालाई मनन गर्नु र आभारी हुनु किरात जातिको जातीय विशेषता हो र त्यही विशेषताको अभिव्यक्ति किरात चाडमा हुने गर्दछ ।

राई जातिले सुम्निमा र पारुहाङलाई आफ्नो आदिम पुर्खा मात्रै होइन धरती र आकाशको प्रतीकको रूपमा पूजा गर्दछन् । याक्खाहरूले चोसोवालाई भूमि पूजाको रूपमा पनि मान्ने गर्दछन् । भूमिको उर्वरतामा उम्री फलेको बालीनाली आफूले खानुभन्दा पहिला स्वयम् अन्नदाता भूमिलाई नै चढाई आभार व्यक्त गर्ने चाड हो किरात चाड ।

किरात वंशको एउटा शाखा लिम्बू जातिले पनि बालीनाली लगाउनुपूर्व यक्वा सेवा (वैशाखे पूर्णिमाको दिन गरिने पूजा) गर्दछ । सोही दिन रोपिएको नयाँ बीउ बिजन राम्रो उम्रियोस्, बढोस्, चरामुसा नलागोस्, फुलोस्, फलोस् भनेर प्रकृति र आफूले मानीपूजी ल्याएका देवताहरूसँग भाकल गर्ने प्रचलन छ । यही भाकल अनुसार अन्नबाली पाकेपछि सकुसल अन्नबाली फल्न, पाक्न सहयोग पु¥याउने प्रकृति, पशुपक्षी आदिलाई धन्यवाद ज्ञापन गर्ने अवसरको रूपमा लिम्बूहरू किरात चाड चासोक तङ्नाम पर्वलाई लिने गर्दछन् ।

चसोक तङ्नामको सामाजिक महत्व

किरात चाड चासोक तङ्नाममा किरात लिम्बू जातिहरू पूजापाठ गर्नुका साथै एकआपसमा भेटघाट गर्ने, शुभकामना आदानप्रदान गर्ने, परम्परागत नाचगान गर्ने, मौलिक भेषभूषा लगाउने र आफन्तजनसँग सजातीय मीठामीठा खानपीनका परिकारहरू खाने गर्दछन् ।

राई जातिमा सासुबुहारी, बाबुछोरादेखि नातिनातिनासम्म एकै ठाउँमा भेला भई सेमुना साकेन्वा धक फुकाएर नाच्ने गर्दछन् । यसरी नै सुनुवार जातिमा पनि शाँदार पूजाआजा सकिएपछि ढोल र झ्याम्टा बजाएर विभिन्न सिलिहरू नाच्दै मनोरञ्जन गर्दछन् । यता लिम्बूहरू भने उनीहरूको जातिको आदिम खेलाडी पोरोक्मी यम्भामीलाई स्मरण गर्दै पक्लुङ लेप्मा (छेलो हान्ने) खेल खेल्दछन् । यही अवसरमा तरुनी तन्नेरीहरूको फुङ्वा चाङ्मा (जीवनरूपी फूल जगाउने) मुन्धुमी कर्म पनि सम्पादन गर्दछन् । किशोर किशोरीहरू परिपक्व उमेरमा प्रवेश गरेको सङ्केतको रूपमा चाङ्वान् लेक्मा (विशेष विधिविधानका साथ वश्त्र अर्थात् तागाबा, मेख्ली, गरगहना लगाइदिने) सुअवसरको रूपमा पनि यो चाडलाई लिम्बूहरूले लिने गर्दछन् । के लाःङ (च्याब्रुङ नाच), या? लाःङ (धान नाच) पनि यो पर्वका थप आकर्षण हुन् ।
यस चाडको पावन अवसरमा याक्खा याक्खामाहरू एक ठाउँमा भेला भई केवलाक, चावकलाक गर्ने विभिन्न प्रतियोगिताहरू आयोजना गर्ने, नाचगान गर्ने, शुभकामना आदानप्रदान गर्ने गर्दछन् ।

यसरी नै शाँदारले सामाजिक तथा सांस्कृतिक रूपमा मानवीय एकता, शान्ति, सद्भाव र समन्वय स्थापित गर्दछ भन्ने सुनुवारहरूको विश्वास रहेको छ । रिसइबी छाडेर व्यक्तिगत हितभन्दा माथि उठेर ‘हामी भावना’ले ओतप्रोत भई सामुहिक हितका लागि ऐक्यवद्धता जनाउने यस चाडको महत्वपूर्ण पक्ष भनेको सहभागितामूलक समन्वय ठान्दछन् सुनुवारहरू ।

सरकारको नजरमा किरात चाड चासोक तङ्नाम

नेपाली जनताले २००७ साल पहिलेदेखि हाससम्म पटक पटक गर्दै आएका ऐतिहासिक सङ्घर्ष र जनआन्दोलनको परिणामस्वरूप अहिले मुलुक धर्मरिपेक्ष भएको छ । मुलुकका सम्पूर्ण जातजातिले मान्ने चाडपर्वहरू संवैधानिक नैसर्गिकताको हिसाबले समतुल्य भएका छन् । तर पनि व्यवहारमा यो मुखरित हुन नसकेको यथार्थ पनि सबैको सामु जगजाहेर नै छ । हुन त यो अवस्थामा पुग्न पनि लामो सङ्घर्षको बाटो तय भएको छ । रिदामा र रामलीहाङजस्ता किराती सांस्कृतिक अगुवाहरू त्यही किरात चाडको पक्षमा काम गर्दा सहादत प्राप्त गर्नु परेको इतिहास पनि हाम्रो सामु छँदै छ । यद्यपि खुशीको कुरो के छ भने नेपालका विभिन्न धर्मावलम्बीहरूले मान्ने चाडपर्वहरूसँगै किरात धर्मावलम्बीहरूले मान्ने किरात चाड चासोक तङ्नामलाई पनि नेपाल सरकारको २०६४ फागुन १८ गते निर्णय गरी राष्ट्रिय पर्वको मान्यता दिएको छ । किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खाको संयुक्त पहलमा २०५८ मङ्सिर ६ गते माग गरेबमोजिम तत्कालीन सरकारले सम्बन्धित जातिका कर्मचारीका लागि मात्र भनेर किरात चाडलाई मान्यता दिने निर्णय सोही साल चैत्र २६ गते गरेको कुरा पनि यहाँ स्मरणीय छ ।

विगतका शासकहरूको बक्रदृष्टिमा परेको किरात चाड चासोक तङ्नाम भर्खरै ब्यूँतिएको अवस्थामा छ । यही कारणले पनि किरात चाड चासोक तङ्नाम लोकजीवनमा पूर्ण रूपमा स्थापित हुन सकेको छैन, एकरूपता र भव्यताका हिसाबले । यसले पूर्णता पाउन अझै धेरै लामो समय लाग्ने देखिन्छ । राज्यकै नीतिका कारण किरात चाड चासोक तङ्नामले यस्तो हविगत भोग्नु परेकाले अब यसलाई पूर्णता प्रदान गर्न पनि राज्यले नै विशेष ध्यान दिनुपर्दछ भने अन्य समुदायको पनि सौहाद्र्धता त्यतिनै अपेक्षित छ । यसै बीच अर्को खुशीको विषय यो पनि छ कि प्रवासमा रहेका किरात लिम्बू समुदायले हरेक वर्षको चासोक तङ्नाम मनाउनका लागि नेपालमा जस्तै ‘चासोक तङ्नाम मूल आयोजक समिति’ गठन गरी भव्य रूपमा मनाउने परम्परा विगत एकदशकदेखि सुरु भएको छ । यसरी मूल आयोजक समिति गठन गरी मनाउनेमा हङ्कङ, युके, अमेरिका, क्यानडा, युएई, कतार, ब्रुनाई, आदि मुलुकहरू पर्दछन् जहाँ किरात याक्थुङ चुम्लुङ सक्रिय रहेको छ ।

किरात चाड चासोक तङ्नाम कसरी मनाइन्छ ?

किरात लिम्बू समुदायमा यक्वा सेवा अर्थात् उभौली पूजा सामूहिक रूपमा मान्ने चलन रहेको पाइन्छ । तुलनात्मक रूपमा पहिला पहिला चासोक तङ्नाम अर्थात् उधौली पूजा भने बढी पारिवारिक परिवेशमा मनाउने चलन थियो । पछिल्लो समयमा आएपछि मूलतः किरात याक्थुङ चुम्लुङको गठनपछि भने किरात चाड चासोक तङ्नामलाई सामूहिक रूपमा मनाउने परम्परा बढी नै मुखरित भएको पाइन्छ । पहिला परिवार तहमा गरिने चासोक पूजा अब आएर सिङ्गो समुदाय एकै ठाउँमा भेला भएर माङसाम्माङ (देवीदेवता) को पूजा गर्ने, प्रकृतिको पूजा गर्ने, मनोरञ्जन, खेलकुद गर्ने, मेला लगाउने जस्ता कार्यक्रमहरू हुने गरेका छन् । पछिल्लो समयमा आएर स्थानीय पर्यटन प्रवद्र्धनका रुमा पनि चासोक मेला आयोजना हुन थालेको पाइन्छ । परम्परागत रूपमा चासोकमा एकराते तङ्सिङ राख्ने परम्परा पनि पालन हुँदै आएको छ ।

चासोक चाड कसले मान्ने हो ?

संसारमा चलेका सबै प्रकारका चाडपर्वहरू आरम्भमा निश्चित समुदाय वा जातिले मान्ने गरेको इतिहास पाइन्छ । क्रमशः ती चाडपर्वहरू एकपछि अर्को समुदायमा फैलँदै जाने गरेको पाइन्छ, समाज विकासको प्रवृतिलाई केलाएर हेर्दा । नेपालमा गणतन्त्रपछि छट पर्व तीब्रतर गतिमा फैलँदै गएको पाइन्छ । यसको प्रभाव गैह्रतराई–मधेसी समुदायमा पनि फैलँदै गएको वा अरूले आत्मसाथ गर्दै गएको पाइन्छ । किरात चाड चासोक तङ्नामको सवालमा पनि यही कुरा लागू हुन्छ ।

किरात चाड चासोक तङ्नाममा नयाँ पाकेको अन्नबाली आफूले मानेको देवी–देवता, पितृ, प्रकृति आदिलाई चढाइने भएकाले यो एउटा निश्चित जाति वा समुदायमा केन्द्रित हुनु पर्ने कुनै कारण छैन । यसको लागि परापूर्व कालदेखि किरात चाड चासोक मनाउने जातिहरू पनि खुला हुनु पर्छ । दसैँ हिन्दूहरू मात्रको महान् चाड भनेजस्तो किरात चाड चासोक तङ्नाम किरात लिम्बूहरूको मात्र महान् चाड भनिनुको सट्टा सम्पूर्ण नेपालीको चाड भनी सोही अनुसार अुनष्ठान एवम् आचारव्यवहार विकास गर्नु आवश्यक छ ।

मुलुक सङ्घीय गणतन्त्रात्मक युगमा प्रवेश गरेपछि हामी जाति राष्ट्रको अवधारणाबाट अघि बढिरहेका छौँ । यसर्थ एउटा जाति राष्ट्रले अर्को जाति राष्ट्र र उसले पालन गर्ने आचारव्यवहार र आदर्शलाई समान जाति राष्ट्रको हैसियतले मान्छौ, सम्मान गछौँ, विगतमा जस्तो एउटाले दमन गर्ने र अर्कोले सधैँ आलोचना गर्ने, घृणा गर्ने परम्पराबाट हामी मुक्त हुन प्रयासरत छौँ र हुनु पनि पर्छ । यसर्थ जुनसुकै नेपाली समुदायले मान्ने चाड पर्व नेपाली चाडपर्व हो, नेपाली सभ्यताको अभिन्न अङ्ग हो, सम्पूर्ण नेपालीको पहिचान हो । सबै नेपाली चाडपर्वलाई हामी सबै नेपालीले मान्नु पर्छ । कुनै पनि नेपाली चाड कुनै जाति वा समुदायको मात्र विराशत होइन, त्यो त सिङ्गै मुलुक र समग्र नेपालीको परिचायक हो ।

टुङ्ग्याउनी

हामी नयाँ नेपाल निर्माणको ऐतिहासिक युगबाट गुज्रिरहेका छौँ । यो अवसरमा किरात चाड चासोक तङ्नाम फगत चाडको रूपमा मात्र नभएर सङ्घीय राज्य निर्माण अभियानसँग जोडेर लिम्बुवान प्राप्तिको ऐतिहासिक पर्वका रूपमा मान्नुपर्ने युगीन दायित्व आज हाम्रो काँधमा आएको छ । यस पावन पर्वलाई मानव एकता, शान्ति, सद्भाव र समन्वय गर्ने अवसर मात्र होइन समावेशी सङ्घीय गणतान्त्रिक संविधान निर्माण र जातीय स्वायत्ततता सहितको राज्यपुनर्संरचनाको सार्थक प्रयाससँग जोडेर मनाउनु वाञ्छनीय हुन्छ ।

तुम्याहाङ, अमर (२०७४), किरात याक्थुङ जाति चिनारीका आयामहरु, पेज २२–२७ ।

किरात चाडः चासोक तङ्नामको छोटो जानकारी – मन्जुल याक्थुम्बा

पृष्ठभूमि
यस देशका तमाम आदिवासी जनजातिहरूले परम्परादेखि मानिल्याएको आआफ्नो मौलिक चाडलाई दोस्रो दर्जाको चाड सम्झी बलात् लादिएको दशैँलाई सर्वोपरि राष्ट्रिय चाडकै रूपमा मानी आएकै थिए । तर लाखौँलाख खादिवासी जनजातिहरूको घोरविरोध हुँदाहुँदै पनि बलमिचाइद्वारा यस देशका हिन्दू धर्मावलम्बी सत्ताधारीहरूले नेपाल अधिराज्यलाई हिन्दू राज्य भनी संविधानमै घोषणा गराई धर्मलाई राजनीतिकरण गरेको र दशैँ हिन्दूहरूको मात्र चाड भएको गाँठी कुरो बुझेपछि यस देशका आदिवासी जनजातिहरूमा असन्तोष र आक्रोशको लहर असह्य भएर उर्लिएको हुँदा उनीहरूमा बलात् लादिएको दशैँलाई अकाट्य प्रमाणहरूको आधारमा आदिवासी जनजातिहरूको चाड हुँदैहोइन, छँदैथिएन भन्ने निस्कर्षमा पुगेर नै २०४६ सालदेखि दशैँ मान्न छोडेका हुन् । यसै सन्दर्भमा हामी किरात लिम्बूहरूले पनि हाम्रो गर्दनमा बलात् भिराइएको दशैँरूपी जुवालाई मिल्काएर आफ्नै मौलिक किरात चाड चासोक तङ्नामलाई सर्वोपरि मानेर पुनर्जीवित गराइएको मात्र हो । नयाँ चाडको सृजना गरेको होइन । लिम्बूहरूको चासोकथिसोक चाड लिम्बूवान क्षेत्रका प्रत्येक घरमा परम्पारदेखि रहेक वर्ष धुमधामका साथ मनाइआएकौ चाड हो ।

आदिवासी जनजातिहरूमा खेतीपातीको थालनी भएपछि लगाएको नयाँ बाली पाकेपछि भिœयााई सर्वप्रथम आआफ्नो इष्टदेवता र पितृहरूलाई आव्हानगरी उनीहरूमा नयाँ पाकेको अन्नहरू अर्पण गरी उनीहरूसँग अनुमति मागेर मात्र नयाँ अन्नहरू खाने आदिवासी जनजातिहरूमा प्रचलन अद्यापि कायम छ । यो (न्वागी पूजा) चाड मेचिदेखि महाकाली र हिमालदेखि तराईसम्मका आदिवासी जनजातिहरूले मङ्सिर पूर्णेताका सम्पन्न गर्दछन् । यो चाडलाई लिम्बूहरूले ‘चासोक तङ्नाम’, राईहरूले ‘साकेवा÷साकेला’, याक्खाहरूले ‘चासुवा’ र सुनुवारहरूले ‘फोलषादर’ को नामले किरात चाड मनाउने गर्दछन् । कसैले भोगबलि र कसैले सात्विक तरिकाले पुरोहितद्वारा यो चाडपूजा सम्पन्न गर्दछन् । यही मौलिक चाडलाई पुनर्जीवित गराएर निरन्तरता दिई भव्यरूपले राष्ट्रिय स्तरमै मनाउने उद्देश्यले चारै किरात संस्थाहरू किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा, किरात सुनुवार सेवा समाज र किरात राई यायोक्खाको संयुक्त प्रयासमा मङ्सिर पूर्णेताका त्रयोदशी, चतुर्दशी र पूर्णेसम्म तीनदिन किरात चाडको उपलक्ष्यमा अधिराज्यव्यापी सार्वजनिक विदाको घोषणा गरी पाउन श्री ५ को सरकारसमक्ष माग प्रस्तुत गरेकोमा मङ्सिर पूर्णेका दिन एकदिन मात्र किरात चाडलाई मान्यता प्रदानगरी सो दिन अधिराज्यभरिका किरात धर्मावलम्बीहरूलाई गत सालदेखि सार्वजनिक विदादिने घोषणा नेपाल राजपत्र भाग ५० अङ्क ५१ मितिः २०५८÷१२÷२६ को राजपत्रमा समेत श्री ५ को सरकारको सूचना प्रकाशित भैसकेको कुरा सर्वविदितै छ । हाम्रो मागलाई आंशिक रूपमा भए पनि श्री ५ को सरकारले मान्यता प्रदान गरेकोमा यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।

चासोक–थिसोक पूजाको सामग्रीहरू र पूजाविधि
(क) नयाँ अन्न मकै, कोदो, धान आदि पाकेपछि घरको मूली आइमाईले चोखोनितोगरी धान र कोदोको बाला टिपी ल्याउँछन् । धानको बालाबाट धान झारेपछि त्यसलाई हाँडीमा भुटी ओखलीमा कुटेर च्युरा बनाइन्छ भने नङ्ले छोडाएको नयाँ धानको अक्षता चामल बनाइन्छ ।

(ख) कोदोको बालालाई हातले माडेर गेडा निकालिन्छ । कोदोको गेडा, मर्चा र पानी मिसाएर पूजाको लागि जाँड साप्तोक बनाइन्छ ।

(ग) नरकट वा मालिङ्गो वा निगालो आदिको तल्लोपट्टि भुइँमा गाड्न सजिलो हुनेगरी चुच्चो पार्ने र माथिपट्टि मुठारेको ढुङ्गो ५–६ इन्च लामो बनाई त्यसभित्र साप्तोक हाली थिः तङ्बा बनाइन्छ । तङ्बा बनाउने वस्तुबाटै सिन्का बनाई पिचिङ (पाइप) तङ्बामा हाल्ने र तङ्बालाई केराको पातले छोपी पिचिङले छेडेपछि पूजाको लागि तङ्बा तयार हुन्छ ।

(घ) वासो फुङ्वेत् (चिण्डो) वा लोहेोटा÷डबकामा वादुम्पक्वा (चोखो पानी) हाली वासाङ्ना वा लाइक्इक्सो (केराको पातलाई बेरेर बनाएको पानी छर्कने वस्तु) तयार गर्नुपर्छ ।

(ङ) विभिन्न प्रकारका फलफूल, सुकेको तीतेपाती र धूपीको धूलो धूप, सालधूप, अन्य सुगन्धित धूपहरू, भेटी, च्युरा, अक्षता तयार गर्नुपर्छ ।

(च) ३ देखि ६ इन्च गहिरो जमिन खनेर निक्लेको माटोले जमिन सम्याउनुपर्छ । सम्याइएको जमिनमा पूजागरिने विभिन्न देवीदेवताहरूको लागि सुल्टैसुल्टो पारी केराको पात दुईसरो पात ओछ्याई लासो (पूजाथान) बनाइन्छ । लासोथाप्ने तरिका कहीँकहीँ फरकफरक पनि हुन्छ ।

(छ) युमा साम्माङ र थेबा साम्माङको थानमा भने माथि उल्लिखित सामग्रीहरूका अतिरिक्त थालमाथि फुङसारी (कलश) र दीयो जलाई पूजा गर्नुपर्छ । घरभित्र लासो थाप्दा जमिन खनी सम्याउनु पर्दैन ।
चासोक थिसोक पूजा कसले, कहाँ, कसरी र कहिले गर्ने ?

दश लिम्बूवान सत्र थुमका विभिन्न ठाउँहरूमा सम्पूर्ण लिम्बूहरूले पूजी ल्याएको देवीदेवताहरू उहीउही नै हुन् । तिनीहरूको नामाकरण र पूजा गरिने तरिकामा केही फरक हुनसक्छ । तर मौलिक कुराहरूमा फरक छैन । माथि उल्लेखित तयार पारिएका आवश्यक सामग्रीहरूमध्येबाट बाहिर पुजिने देवदेवताहरूको लागि खनी सम्याइएको जमिनमा प्रत्येक देवीदेवताको लागि लासोअगाडि १÷१ जोर तङ्बा ठड्याउनुपर्छ । पूजा सकिएपछि तङ्बाको जाँड पिचिङले लासोमा छर्केर वा चढाएर तङ्बाहरू लडाइदिनुपर्छ ।

पूजा गर्ने विधि, तरिका र मुन्धुम जान्ने जोसुकैले पनि यो पूजा गर्न हुन्छ । तर धेरैजसोले देवारी, माङ्देम्बा, फेदाङ्माहरूद्वारा नै यो पूजा सम्पन्न गराउँछ्न । गाउँघरमा देवारी वा फेदाङ्मा कमै हुन्छन् । त्यसैले फेदाङ्मा र सम्बन्धित घरपरिवारको अनुकूलअनुसार गाउँका पैत्येक घरमा पालोपालो गरी पूजा सम्पन्न गराउँछन् । यो पूजा साँझपख सुरु गरिन्छ । पूजा सम्पन्न गरिसकेपछि फेदाङ्मा वा देवारीले नयाँ पाकेको अन्नको च्युरा र अक्षताका साथ अन्य चढाइने चीजबिजहरू बलिरहेको चुल्होमा चढाउँछन् । पूजा सकिनासाथ याबोहरू (मैनामहरू) घरपरिवारका सम्बन्धित सदस्यमा आशीर्वादका साथ देवारीले फिर्ता दिने काम गर्छ । त्यसपछि सबैमा प्रसाद वितरण र खानपिन सुरु हुन्छ । पूजाको भोलिपल्ट नजिक रहेका दाजुभाइ, चेलबिेटी र इष्टमित्रहरूलाई समेत बोलाई गच्छेअनुसार आतिथ्य अर्पण गर्ने र छिमेकीहरूको घरघरमा पूजाको प्रसाद वितरण गरिन्छ ।

चासोक थिसोक पूजामा पूजिने देवीदेवताहरू :
१. मिसेक्पा – सम्पन्न गरिन लागेको पूजाकार्य बिघ्नबाधारहित सम्पन्न होस् भन्नाका लागि सर्वप्रथम मिसेक्पाको पूजा गरिन्छ ।

२. कुइकुदाप वा ताफेÞम्बा वा ताम्भुङ्ना – गृहस्थी जीवनमा विघ्नबाधा नदिइयोस भनी मनाइने शिकारी वनदेवता वनदेवीहरू यस प्रकार छन् ।

(क) तक्सङ्बा – विघ्नवाधा नाशक शिकारी देवता ।

(ख) सिरिङ्मा वा मुदेन्हाङ्मा – किरात लिम्बूहरूको रक्षागर्न उत्तरबाट याक्थुङ्लाजे प्रवेशगरेकी देवी ।

(ग) तेन्छामा – दक्षिणबाट याक्थुङलाजे प्रवेश गरेकी देवी ।

(घ) खञ्जमा वा खजमा – कहिले उत्तर कहिले दक्षिणतिर घुमिहिँड्ने देवी ।

(ङ) वजमा – बिजुवा, येबा, येमा, फेदाङ्मा आदि तान्त्रिकहरूबाट पनि गुरु मानिएकी उनीहरूमा शक्ति प्रदान गर्ने देवी ।

(च) वरक्पा या वरक्मा– पोखरी, तालतलाउ, नदीनाला, महासागर आदि पानीजन्य आपदविपदबाट रक्षागर्ने देवी ।

मिसेक्पा र कुइकुदापहरू अर्थात् ताम्भुङ्नाको बाहिर पूजा सम्पन्नगरेपछि घरभित्रका अर्थात् हिम्साम्माङहरूको पूजा निम्नअनुसार गनुपर्छ ।

३. काप्पोबा हिमसाम्माङ – घरको रक्षागर्ने बूढाबाजे देवता ।

४. काशीहाङ्मा – युमासाम्माङसँग साथ लागिआएकी उनको सहयोगी देवी ।

५. युमासाम्माङ – तागेरानिङ्वाफुमाङ मातृशक्तिको रूपमा प्रकट भएकी लिम्बूहरूको सर्वोपरि इष्टदेवी ।

६. थेबासाम्माङ – तागेरानिङ्वाफुमाङ पितृशक्तिको रूपमा प्रकट भएका लिम्बूहरूका आदि पुरुष देवता अर्थात् अग्रज देवता (बाजे देवता) ।

७. थुङ्दाङ्बा– अन्नवाली उत्पादनमा घामपानी मिलाई उब्जा गराइदिने, सूर्यदेवता ।

८. पहिलोपटक बीउजिनहरूको जोहोगरी (खोजविनगरी) आफ्ना माइतीहरूलाई अन्न उत्पादन गरी प्राणधान्नमा सेवा पु¥याउने सिबेर याक्थुङ्मा, सिबेरा याभुङ्ग्रेक्मा नामक चेली ।

९. कसैकसैले चखोबालाई पनि चासोकथिसोकमा पूजा गर्दछन् ।

किरात लिम्बूहरूको चासोक तङ्नामलाई स्वस्फुर्त रूपले निरन्तरता दिन नसकिएसम्म सामूहिक रूपमा चुम्लुङको सकृयतामा चासोक तङ्नाम मनाउन २०५१ सालदेखि सुरु गर्ने निर्णय भएको हो ।

तर हाम्रा ११ जिल्ला शाखाहरू र २१२ गाउँ विकास शाखाहरूमा हामीले चाहेजति प्रचारप्रसार गर्न सकेका छैनौँ । साँच्चै भन्ने हो भने चुम्लुङकै नेतृत्व गर्ने व्यक्तिहरूबाट हाम्रो चाडलाई निरन्तरता दिन प्रभावकारी भूमिका खेलिनुपर्ने हो । सबूद प्रमाणका आधारमा दशैँ हाम्रो चाड होइन र हाम्रो मौलिक चाड चासोक थिसोक अर्थात् चासोक तङ्नाम नै हो भन्ने निक्र्यौलमा हामी पुग्यौँ भने श्री ५ को सरकारले पनि हाम्रो चाडलाई मान्यता दिई सार्वजनिक विदासमेत घोषणा गरिसक्दा पनि हामी हाम्रो चाडलाई गौण सम्झन्छौँ अर्थात् यसलाई निरन्तरता दिनमा लागिपरी गर्दैनौँ भने हामीजस्तोको धर्म, संस्कृति नमासिए अरु कसको मासिन्छ त ? अतः यस संवेदनशील विषयमा निम्नानुसार कार्य गरी हाम्रो मौलिक चासोक तङ्नामलाई बचाइराख्न सम्पूर्ण किरात लिम्बूहरू समर्पित होऔँ भन्ने निवेदन गर्दछु ।

(१) हाम्रो मौलिक एवम् मुख्य चाड चासो तङ्नाम नै हो भन्ने कुरा कहिल्यै नभुलौँ ।

(२) जसरी हिन्दू, इस्लाम, ईसाई आदि धर्मावलम्बीहरू आफ्नो चाडलाई श्रद्धापूर्वक मान्ने गर्छन् त्यस्तै हामी पनि हाम्रो परम्पारदेखिको मौलिक चाडलाई मङ्सिर पूर्णेताका त्रयोदशीदेखि पूर्णेसम्म तीनदिन आआफ्नो घरमा चासोकथिसोक पूजागरी भव्यताका साथ चासोक तङ्नाम चाड मनाऔँ ।

(३) वितेका रीसरागलाई बिर्सेर चासोक तङ्नाममा आत्मीयताका साथ भेटघाट र शुभकामना आदानप्रदान गरौँ ।

(४) चासोक तङ्नामको शुभ उपलक्ष्यमा पाहुनाहरूको आदानप्रदान गरी खानपिन गरौँ ।

(५) नवविवहित बेहुला बेहुली र अन्य चेलीबेटीहरू हुक्वा र चेसुङका साथ चासोक तङ्नाममै माइती र ससुराली जाने गरौँ ।

(६) केन्द्रदेखि जिल्ला र गा.वि.स. शाखाका पदाधिकारी एवम् सदस्यहरूले अनिवार्य रूपमा चासोक तङ्नाम मनाउनमा सहभागी भएर यस चाडको महत्वबारे गर्वका साथ व्यापक प्रचारप्रसार गरौँ ।

(७) प्रत्येक वर्ष जिल्लाजिल्ला र गाउँगाउँमा स्वस्फुर्त रूपले भव्यताका साथ चासोक तङ्नाम मनाउन जिल्ला र केन्द्रबाट लिम्बूवान क्षेत्रहरूको भ्रमण कार्यक्रम राखौँ ।

(८) साम्बाहरू, येबाहरू उपलब्ध हुन्छन् र अनुकूल मिल्छ भने चासोक तङ्नामको अवसरमा माङ्हुप वादेम्मा एकराते तङ्सिङतक्मा पनि गर्न सकेमा हाम्रो संस्कृतिको संरक्षण गर्नमा ठूलो टेवा मिल्ने थियो ।

(९) यसभन्दा अघि आआफ्नो अनुकूलअनुसार बेग्लाबेग्लै दिनहरूमा सम्पन्न गरिआएको चासोकथिसोक पूजालाई यसपालादेखि मङ्सिर पूर्णेताका त्रयोदशीकै दिनमै सम्पूर्ण लिम्बूहरूले अनिवार्य रूपमा एकैदिनमा सम्पन्न गरौँ र चतुर्दशी तथा पूर्णेका दिनहरूमा पाहुनाहरूको आदानप्रदान गरी खानपिन गरौँ ।

(१०) किरात लिम्बूहरूमा कुनै देवीदेवताको तुरुन्तै पूजाआजा गर्न अनुकूल नमिलेमा भाकल गर्ने वा भाग छुट्टयाइराख्ने र (पशुपक्षीको बलि दिनुपर्ने भए पानीपारी राख्ने पनि भनिन्छ) अनुकूल समयमा भाकल गरिएको देवीदेवतालाई पूजागरी मनाउने चलन छ ।

त्यसैले लिम्बूहरूको मुख्य बाली कोदो र धान कुनै वर्ष चासोक तङ्नामभन्दा अघि नै पाक्नसक्ने भएकोले यस्तो परिस्थितिमा पाकेको कोदोको दुईतीन बाला र धानको दुईतीन मुठी बालाहरू घरमूली महिलाले चोखोनितो गरी, खेतबाट काटेर ल्याई कसैले नभेट्ने अग्लो, चोखो ठाउँमा झण्ड्याई सुरक्षित राख्ने र चासोक तङ्नामको समयमा निकाली चासोकथिसोक पूजा सम्पन्न गरेमा सम्पूर्ण लिम्बूहरूद्वारा एकैदिनमा चासोक थिसोक पूजा गरी चासोक तङ्नाम भव्यताका साथ मनाउन सकिन्छ ।

यसो गरेमा चासोक तङ्नामअगाडि नै नयाँ अन्नबालीबाट गाउँघरको अनिकाल पनि टर्ने र हाम्रो मौलिक चाडलाई पनि निरन्तरता दिन सजिलो हुन्छ ।

(११) देवारीहरूको मात्र भर नपरी माथि उल्लेख भएअनुसार आआफ्नो घरमा आफैँले पूजा सम्पन्न गर्न सक्नेगरी प्रशिक्षण लिने र दिने अभियान अहिलेदेखि नै चलाऔँ ।

(तान्छोप्पा वर्ष ७, अङ्क ११, विहिबार १४ कात्तिक २०५९, ३१ अक्टोबर २००२) ।
याक्थुम्बा, मञ्जुल, (२०६२), मौलिक किरात धर्म संस्कार (लेख तथा अन्तर्वार्ता सङ्ग्रह), पेज १९–२५ ।

साकेला उभौली र उधौली चाड परिचय


किरात राईहरू प्रकृति र पितृपूजक हुन् । किरात राईहरूले मनाउने विभिन्न चाडहरूमध्ये प्रमुख चाड उभौली तथा उधौली हुन् । यी चाड वर्षमा दुई पटक मनाइन्छ। बैशाख पूर्णिमामा मनाइने चाडलाई उभौली र मंसीर पूर्णिमा मनाइने चाडलाई उधौली भनिन्छ ।

चाड मनाउने विधि
उभौली र उधौली मनाउँदा किरात राईहरू बसोबास गरेको ठाउँअनुसार परम्परागत भेषमा नाक्छोङ वा होमेहरूद्वारा पहिले चुला पूज्ने त्यसपछि बाहिर सार्वजनिक स्थानमा स्थापना गरिएका साकेला थानमा गई मुन्धुमअनुसार पूजा अर्चना गर्ने गरिन्छ । सोही उपलक्ष्यमा उभौली गर्दा बैशाखे पूर्णिमा (बुद्ध जयन्ती) को दिनदेखि पाँच दिन औंसी तिथिसम्म र उधौली गर्दा मंसिरे पूर्णिमादेखि गाउँ–गाउँ र घर–घरमा विभिन्न सिलीमा साकेला नृत्य, ढोल, झ्याम्टा सिर्लिङ, मिरिमा आदि लिई हर्षोल्लासका साथ नाच्ने गर्छन् । उक्त साकेला नृत्यको थालनी नाक्छोङद्वारा कटुसको स्याउला गाडी गरिन्छ भने विभिन्न नृत्यको भावहरू सिली माङपा तथा सिली माङमाको निर्देशन अनुसार वृत्ताकार बनाई प्रस्तुत गरिन्छ ।

धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व
किरात राई समुदायमा यी चाडहरूको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्व छ । किरात राईहरूले सुम्निमा र पारूहाङलाई आफ्ना आराध्य आदिपुर्खाको रूपमा मानी ल्याए तापनि उनीहरूलाई धरती र आकाशको प्रतीकको रूपमा पनि मान्दछन् । त्यसरी साकेला थानमा स्थापना गरिएका एक जोडी शिलाहरू (सेतो र कालो) सुम्निमा र पारूहाङको प्रतिरूप मानिन्छ ।

उभौली र उधौली साकेला सम्पूर्ण किरात राईहरूका सांस्कृतिक महत्त्वको चाड हो। यस चाडमा नाचिने सिलीहरू मानव जीवनको विभिन्न पक्ष तथा प्रकृति र पशुपन्छीसँगको सम्बन्धलाई प्रतिविम्बित गर्ने खालका ठाउँ र थर हेरि धेरै प्रकारका हुन्छन् । यी चाडहरूमा सबै उमेरका राईबन्धुहरू ढोल र झ्याम्टाको तालमा रमाएर नाचिरहेका हुन्छन् ।

यी चाडहरूको सामाजिक महत्त्व पनि उतिकै छ । सर्वप्रथम आङ्खना वंश, छर छिमेक र समुदायबीच भेटघाट, आपसी सद्भावना, मानमर्यादा अभिवृद्धि गर्नमा यस चाडले महत्त्वपूर्ण भूमिका खेल्दछ । मिठो–मिठो खाने, नयाँ लुगा लगाई रमाउने, शुभ–कामना आदान–प्रदान गर्ने, प्रतियोगितात्मक साकेला नृत्य गर्ने आदि पनि यी चाडका प्रमुख विशेषताहरू हुन् ।

निष्कर्श
समग्रमा साकेला उभौली उधौली किरात राईहरूको धार्मिक र सांस्कृतिक परम्परा झल्किने जीवित चाड हो ।

किरात राई यायोक्खा
केन्द्रीय कार्य समिति ।

स्रोतः किरात चाडः चासुवा, फोलष्याँदर, चासोक तङनाम र उधौली साकेला एक परिचय – वि.सं. २०५९ (२००२), पेज २४ – २६
प्रकाशकः किरात याक्थुङ चम्लुङ